Skip to content

सहकारीको विवरण माग्दै काभ्रेका स्थानीय तह

 

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका कार्यालयले स्थानीयस्तरका सहकारी संस्थालाई १५ दिनभित्र सबै विवरण उपलब्ध गराउन अनुरोध गर्दै पाँच दिनअघि सार्वजनिक सूचना जारी गर्‍यो । जारी सूचनामा कार्यालयद्वारा दिइएको समय सीमाभित्र विवरण उपलब्ध नगराउने सहकारीको दर्ता खारेजीसम्बन्धी कारबाही प्रक्रियासमेत अगाडि बढाइने उल्लेख गरिएको थियो । 

सूचनामा गाउँपालिकाभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको विवरण अद्यावधिक गर्नुपर्ने भएकाले सम्पूर्ण ९बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि तथा अन्य सहकारी संस्था०सहकारीले तोकिएको समयमा आवश्यक कागजात सार्वजनिक गर्न अपिल गरिएको हो । 

‘तोकिएको समयभित्र विवरण उपलब्ध नगराउने सहकारीको दर्ता खारेजीसम्बन्धी कारबाही प्रक्रिया अगाडि बढाउने छौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन प्याकुरेलले भने । उनका अनुसार सहकारीको सेयर सदस्य र सेयर पुँजी तथा बचत सङ्कलन र ऋण लगानीसमेतको विवरण माग गरिएको छ ।

केही हप्ताअघि पाँचखाल नगरपालिकाले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८० को सुझाव तथा नगरको सहकारी ऐन–२०७५ को दफा ५२ को (१)उपदफा बमोजिम सहकारी संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिका सदस्य तथा व्यवस्थापकको सम्पत्ति विवरण र उनीहरुले संस्थाबाट लिएको ऋणको विवरण, तीनपुस्ते विवरण, तथा संस्थाका नाममा रहेको जमिन एवं घरको कागजातसमेत बुझाउन नगरले निर्देशन दिएको थियो । 

नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमका अनुसार नगरभित्रका सबै प्रकृतिका सहकारीलाई कारोबार एवं गतिविधि दुरुस्त राखी आ–आफ्ना विवरण ‘कोपोमिस’मा प्रविष्ट गर्न निर्देशन दिइएको छ । पाँचखालमा सबै प्रकृतिका एक सय ४१ सहकारी छन् । यस्तै नगरले सबै प्रकृतिका सहकारी संस्थालाई ‘बचत कार्ययोजना’ निर्माण गर्नसमेत निर्देशन दिएको छ । 

सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेको समस्या समाधानका लागि शेयर सदस्यको माग बमोजिम बचत फिर्ता गर्ने गरी बचत कार्ययोजना बनाउन नगरका सम्पूर्ण सहकारी संस्थाहरुलाई निर्देशन दिएको हो । 

जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकका अनुसार दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये हाल छ सय ४६ वटा मात्रै सञ्चालनमा छन् । हाल सञ्चालित सहकारीमा छ लाख ७९ हजार आठ सय १८ जना शेयर सदस्य रहेको तथ्याङ्क छ । सङ्घले जिल्लास्थित सहकारी संस्थाको अनुगमन, निरीक्षणका क्रममा आठ सय ४९ वटा सहकारीको अवस्था ‘अज्ञात’ रहेको जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal