Skip to content

वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

 

काठमाडौं ।  वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै छ करोड १९ लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई हाल कास्की पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन छन् । 

केदार चौधरीले युके पठाइदिने भन्दै ३०र३५ जना व्यक्तिबाट नौ लाखदेखि २० लाख रुपैयाँसम्म उठाई भारतका विभिन्न स्थानमा आइआरआइएस एक्सप्रेस कन्सल्टेन्सीमार्फत काम गर्ने भनी अजरबैजानसम्म पुर्याई पीडितबाट करिब रु छ करोड लिई फरार भएका थिए । त्यसैगरी जीवराज केसीले फ्रान्स पठाइदिने भन्दै ११ लाख ६५ हजार रुपैयाँ ठगी गरेको र  नन्ददेवी पुनले युके पठाइदिने भन्दै सात लाख ६७ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए  ।

उनीहरुलाइ सोमबार पक्राउ गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि  वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal