Skip to content

बेलडाँगी र पथरी शिविरका ज्येष्ठ नागरिक र अशक्तलाई भत्ता वितरण

nabil bank

 

विराटनगर । झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम (भत्ता) वितरण गरेको छ ।

सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका एक सय ५७ र पथरी शिविरका ५७ जनालाई मासिक जनही पाँच हजार रुपैयाँका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि बुधबार सो रकम वितरण गरेका हुन् ।

अध्यक्ष अधिकारीले विगतदेखि नै शिविरका ज्येष्ठ नागरिक, असहाय र असक्तहरूलाई मासिक रूपमा सो रकम उपलब्ध गराउँदै आएको छ । शरणार्थी शिविरभित्र कष्टकर जीवन निर्वाह गरिरेहका यी नागरिकलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा यो कार्यक्रम विगतका वर्षदेखि निरन्तर रहेको हो । सो फाउण्डेसनले रकम प्राप्त गर्ने ती नागरिकलाई स्थानीय बैंकमा खाता खोलिदिएर सोही बैंक खातामार्फत सो भत्ता उपलब्ध गराउँदै आएको छ ।

बुधबार झापाको बेलडाँगी शिविरमा आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष अधिकारीले पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकामा रहेका आफूहरूले शिविरमा अलपत्र छोडिएकाहरूका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गर्दै आएको बताए । उनले शिविरमा रहेका नेपालीभाषीहरूको स्वदेश फिर्ती, तेस्रो मुलुकको पुनर्वास या नेपालमै नेपाली भई बाँच्ने अवसर प्रदान गर्नेबारेमा गम्भीर रूपले सोचिदिन नेपाल सरकारसँग आग्रह पनि गरे ।

यी दुई शिविरमा छिमेकी मुलुक भुटानबाट अन्यायपूर्वक लखेटिएर नेपालमा जबर्जस्ती शरणार्थी बनाइएका लगभग आठ हजार नेपालीभाषीको बसोबास गर्छन् । ती शिविरका अशक्त तथा असहायहरूका लागि फाउण्डेसनले ‘डे केयर’को पनि व्यवस्था गरेको छ । त्यसैगरी बालबालिकाका लागि उचित शिक्षादीक्षा उपलब्ध हुन सकोस् भनेर स्थानीय विद्यालयका लागि अङ्ग्रेजी, विज्ञान, गणितजस्ता विषयका २२ जना शिक्षक शिक्षिका उपलब्ध गराएको छ ।

फाउण्डेसनको सहयोगमा पथरी शिविरमा स्वास्थ्य चौकी निर्माण भइरहेको छ भने बेलडाँगी शिविरको स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय शिविर व्यवस्थापन समितिसँगको परामर्श सुरु भएको छ । त्यसैगरी यी दुवै शिविरका लागि एक–एक एम्बुलेन्स उपलब्ध गराउन फाउण्डेसनले नगरपालिकासँग समझदारी गरेर रकम निकासा गरेको छ ।

त्यसक्रममा शिविरका शरणार्थीहरूले परिचयपत्र नवीकरण एवं जन्ममृत्यु र विवाह दर्ताको काम रोकिँदा समस्या भएको गुनासो गरेपछि फाउण्डेसनका अध्यक्ष अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग भेट गरी सो समस्या तत्काल समाधानका लागि आग्रह गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime