Skip to content

अख्तियारमा उजुरी दिने बढे,जिल्लामा चालु आर्थिक वर्षमा मात्रै ५५ उजुरी

म्याग्दी । अनियमितता, भ्रष्टाचारजन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् ।

जिल्लामा चालु आर्थिक वर्षमा मात्रै ५५ उजुरी अख्तियारमा दर्ता भएका छन् । बुधबार रघुगङ्गा गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सहकार्य विषयमा पालिकास्तरीय अन्तक्रिया कार्यक्रममा अख्तियारको पोखरा कार्यालयका प्रमुख आस्मान तामाङले सरकारी कार्यालय र सार्वजनिक पदमा रहेका व्यक्ति जिम्मेवार र जवाफदेही नहुँदा उजुरीको सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी दिए। 

उनले अख्तियारमा उजुरीको सङ्ख्या बढे पनि वास्तविकता र प्रमाणमा आधारित उजुरी कम पर्ने भएकाले अख्तियारमा पर्ने १० देखि १५ प्रतिशत उजुरीमात्रै अनुसन्धानमा योग्य हुने गरेको बताए । ‘भ्रष्टाचार नियन्त्रण गर्न त्यस्ता कार्यमा संलग्नमाथि उजुरी पर्नु राम्रो पक्ष हो, तर अधिकांश मुद्दा व्यक्तिगत असहमति र प्रमाणविहीन खालका पनि आउने गरेका छन्, एउटै उजुरीलाई धेरै वटा निकायमा दिने प्रवृत्ति पनि छ’, उनले भने ।

जिल्लामा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २१ र चालु आर्थिक वर्षमा दर्ता हुन आएका ५५ उजुरी अनुसन्धानकै क्रममा रहेको कार्यालय प्रमुख तामाङले बताए । म्याग्दीमा विद्यालय, स्वास्थ्य चौकी भवन, जलविद्युत्, सडक, पदमार्ग, सार्वजनिक जग्गा अतिक्रमण, अनुदान वितरण, सामग्री खरिद, प्रशासनिक खर्च, पूर्वाधार योजना, सामाजिक सुरक्षा भत्तालगायतका विषयमा अख्तियारमा उजुरी परेको जनाइएको छ । 

जिल्लाका छ स्थानीय तहसित सम्बन्धित ४३ उजुरी परेका छन् । कार्यालयका अनुसार मङ्गला गाउँपालिकामा १२, मालिका गाउँपालिकामा ११, रघुगङ्गा गाउँपालिकामा नौ, बेनी नगरपालिकामा छ, अन्नपूर्ण गाउँपालिकामा तीन र धौलागिरि गाउँपालिकामा दुई उजुरी दर्ता भएका हुन् । अख्तियारले स्थानीय तहलाई बजेट खर्चमा पारदर्शिता र प्रक्रियाको पूर्णपालना गर्दै कार्यान्वयन गर्न सुझाव दिएको छ । 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख तामाङले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको सन्दर्भमा सहजीकरण गरेका थिए। उक्त कार्यक्रममा रघुग्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले दुःख दिने नियतले उजुरी दिने प्रवृत्तिले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले झन्झट व्यहोर्नुपरेको गुनासो गरे । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal