Skip to content

षडानन्दको खकुवा खोलामा झोलुङ्गे पुल, लागत ४८ लाख १२ हजार

भोजपुर । फड्केबाट जोखिम मोलेर खोला तर्दै आएका षडानन्द नगरपालिका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् । षडानन्द–७ र ११ लाई जोडने खकुवा खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।  

पुल निर्माणले वर्षौँदेखि भोग्दै आएको समस्याको अन्त्य भएको वडा नं ७ का स्थानीय दीपबहादुर मगरले बताए । बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेकामा अब समस्या अन्त्य भएको उनको भनाइ छ । 

पुल निर्माण भएर उद्घाटन भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको मगरले बताए । “यो खोलामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै आएका थियौँ’, उनले भने, ‘पुल निर्माण भएपछि अहिले सहज भएको छ ।’ नगरपालिकाको पहलमा पुल निर्माण भएको उनको भनाइ छ ।

यसअघि वर्षाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय खेतमा नै बास बस्नुपर्ने अवस्थासमेत आएको स्थानीय चतुरमाया मगरले बताए । पुल निर्माणसँगै खोला खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या अन्त्य भएको उनको भनाइ छ । 

‘खोलापारि खेत छ’, चतुरमायाले भने, ‘दैनिकजसो खेतीमा आउनुपर्छ । खोलापरि जान काठको फट्के थियो । त्यो फट्के पनि ठूलो खोला आउँदा बगाउथ्यो । पुल बनेपछि हामीलाई सहज भएको छ ।’

४८ लाख १२ हजार आठ सय २५ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले जानकारी दिए । पुल निर्माणमा नगरपालिकाको छ लाख २५ हजार छ सय ६७ रुपैयाँ, सङ्घीय सरकारको १९ लाख ५१ हजार दुई सय ९१ रुपैयाँ र बाँकी रकम स्थानीयको जनश्रमदान र सेतो गुराँस संस्थाले लगानी गरेको उनले जानकारी दिए 

स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवा खोलामा झोलुङगे पुल निर्माण गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। उनका अनुसार योसँगै हालसम्म नगरपालिकाको पहल तथा लगानीमा सातवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

प्रमुख उदासले नगरपालिका क्षेत्रमा आवश्यक पर्ने झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको अघि बढाइएको बताए । आगमी आर्थिक वर्षमा थप चारवटा पुल निर्माण हुने उनको भनाइ छ ।

‘हामीले स्थानीयको आवश्यकताका आधारमा विकासका गतिविधिलाई अघि बढाएका छौँ’, प्रमुख उदासले भने, ‘नगरको पहलमा सातवटा पुल निर्माण भएका छन् । एउटा अन्तिम चरणमा छ । आगामी वर्ष थप चार झोलुङ्गे पुल निर्माण गर्छौँ । हामीले नागरिकलाई स्थानीय सरकार छ भन्ने आभास हुनेगरी गतिविधि बढाएका छौँ ।’

पुल निर्माणले आफ्ना वडाका तीन सय बढी नागरिकलाई राहत मिलेको वडा नं ७ का वडाध्यक्ष दिपेश विष्टले बताए । पुल निर्माणका लागि सेतो गुराँस बाल तथा सामुदायिक विकास भोजपुरले प्राविधिक तथा सामाजिक सहयोग गरेको उनको भनाइ छ ।  

विसं २०८० जेठ ९ मा सम्झौता भएको थियो । नवनिर्मित पुलको एक कार्यक्रमका बीच हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले उद्घाटन गरे । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal