Skip to content

लगानी सम्मेलन अगाडि कतारका अमिर नेपाल भ्रमणमा आउने, महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी  २ दिने नेपाल भ्रमणमा आउने भएका छन् । 

उच्च सरकारी स्रोतका अनुसार कतारका अमिर बैशाख १२ गते आएर १३ गते फर्केने निश्चित भएको छ । केही दिनभित्रमा यसको औपचारिक घोषणा हुने स्रोतले जानकारी दियो । 

सरकारले गर्न लागेको लगानी सम्मेलन अगाडि कतारका अमिरको नेपाल भ्रमण हुन लागेको हो । 

यसअघि अमिरको भ्रमण कात्तिक २० र २१ मा हुने निश्चित भएपछि इजरायल र हमासबीच भएको संघर्षको कारण रोकिएको थियो । 

नेपालले अमिरको भ्रमणको क्रममा दुईवटा हात्ति कतार सरकारलाई उपहार दिने भएको छ । यसको लागि हात्तिको छावा छनोट भएको र छावालाई कतारमा राखिने स्थलको बारेमा समेत टुंगो लागिसकेको छ । 

सन् १९७७ मा नेपाल र कतारबीच  कूटनीतिक सम्बन्ध भएपछि कतारी पक्षबाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालको तर्फबाट भने पूर्व राष्ट्रपतिहरु रामवरण यादव,विद्यादेवी भण्डारी र राजाको पालामा राजा विरेन्द्र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गरेका थिए । 

नेपालले कतारको अमिरको भ्रमणको क्रममा ‘कतार फन्ड फर डेभलपमेन्ट’बाट लगानी तथा सहयोगको अपेक्षा गरेको छ । 

केही जलविद्युत् आयोजनामा कतारको इच्छा रहेको छ । नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारसम्मको उडान गर्ने प्रस्ताव राख्ने छ । नेपाली युवाहरुको प्रमुख श्रम गन्तव्यको देशमा कतार रहेको छ । कतारसँग श्रम सम्झौताको समेत तयारी भएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal