Skip to content

पर्यावरण संरक्षण गर्न मेची–महाकाली पैदलयात्रा सुरु

झापा । पर्यावरण संरक्षणका निम्ति जागरण ल्याउने उद्देश्यले यहाँका पाँच युवाले आज मेची–महाकाली पैदल यात्रा सुरु गरेका छन् । 

विश्वव्यापी उष्णीकरण, जलवायु परिवर्तनजस्ता विकराल वातावरणीय समस्या समाधानका निम्ति देशव्यापी जनचेतना फैलाउने उद्देश्यका साथ मेचीपुलबाट उनीहरुले यात्रा सुरु गरेका हुन् । यात्रीमा सुवास सुवेदी, हरि न्यौपाने, पदम भण्डारी, दिनेश भण्डारी र उमेशकुमार राई छन् ।

मेची नदीको पानी बोकेर सुरु गरिएको पैदलयात्रा ६० दिनपछि महाकाली पुगेर यात्रा समापन हुने पैदलयात्री सुवासले जानकारी दिए । उनले यात्राका क्रममा मुख्य राजमार्ग आसपासका ५० बढी सहरमा जनप्रतिनिधि, विभिन्न समुदाय, विद्यार्थी, सामाजिक व्यक्तित्व र राजनीतिक व्यक्तित्वसँग पर्यावरण संरक्षणका बारेमा छलफलसहित सुझाव सङ्कलन गर्ने बताए । 

‘प्रतिव्यक्ति आठ बिरुवा रोपौँ, प्रकृति संरक्षणमा योगदान पुर्याऔँ’ भन्ने नारासहित सुरु गरिएको यात्राका क्रममा १२ हजारभन्दा बढी व्यक्तिसँग छलफल गर्ने र हजारभन्दा बढी स्वयंसेवक तयार गर्ने अभियानको मुख्य उद्देश्य रहेको उनले राससलाई जानकारी दिए ।

उनले यात्राका क्रममा स्थानीयस्तरमा पर्यावरण संरक्षणका निम्ति भइरहेका प्रयासका बारेमा खोजी गरी वृत्तचित्र निर्माण गर्ने, नवीकरणीय ऊर्जा, फोहरमैला व्यवस्थापन र अन्य पर्यावरणीय समस्या समाधानका बारेमा कार्यशालाको आयोजना गरिने बताए । 

यात्राका क्रममा प्राप्त उपलब्धि र दस्तावेजलाई राष्ट्रपति र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेर पर्यावरण संरक्षणका निम्नि सहयोग गर्ने यात्रु दिनेशले बताए । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal