Skip to content

तमानखोलामा कृषि सङ्कलन केन्द्र बन्दै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकामा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको  ४० लाख रुपैयाँबाट सङ्कलन केन्द्र निर्माण गर्न थालिएको हो । 

गाउँपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको कृषिउपज÷वस्तुलाई सङ्कलन गरी बजारीकरण गर्नका लागि केन्द्र निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । ‘तमानखोलाका अधिकांश नागरिक कृषि पेसामा आबद्ध भए पनि हालसम्म सङ्कलन केन्द्र नहुँदा बजारीकरणमा समस्या हुँदै आएकामा अब समस्या समाधान हुनेछ’, उनले भने ।

अध्यक्ष मगरले तमानखोला–१ स्थित बोङ्गादोभानमा केन्द्र बन्ने भन्दै उक्त केन्द्र निर्माण भएपछि कृषकलाई राहत हुने बताए । अहिले किसानले उत्पादन गरेका वस्तुले बजार पाउन नसकेको भन्दै केन्द्र बनेपछि गाउँगाउँबाट कृषि उत्पादन सङ्कलन गरेर यहाँ ल्याउने र बिक्री वितरण गरिने उनले जानकारी दिए ।

‘यहाँका धेरै किसानले तरकारी, फलफूललगायत अन्य कृषिजन्य वस्तु उत्पादन गर्दै आएका छन् । उत्पादनले सजहरुपमा बजार पाएको छैन’, अध्यक्ष मगरले भने, ‘पालिका केन्द्र सञ्चालनमा ल्याएसँगै बजारीकरणको जिम्मा लिएर कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने योजना बनाएको छ । किसानलाई उचित मूल्य दिलाउन हामीले योजना बनाएर लाग्नेछौँ । सङ्कलन केन्द्रमा छवटै वडाबाट उत्पादन ल्याइनेछ ।’

यही चैत ४ गते सम्झौता भएर केन्द्रको काम सुरु भएको छ । धमनी देउराली निर्माण सेवाले आगामी जेठ मसान्तमा सक्नेगरी ३० लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको गाउँपालिकाका इञ्जिनियर अर्जुन यादवले बताए । केन्द्रमा पशुजन्य वस्तु र कृषि उत्पादन सङ्कलन गर्ने फरकफरक कोठाहरु निर्माण हुने उहाँको भनाइ छ । केन्द्रमा दुई वटा ‘कोल्ड रुम’ समेत बन्ने उनले जानकारी दिए ।

स्थानीय प्रेमबहादुर पुनले गाउँमा उत्पादन भएका तरकारीले बजार नपाउँदा कृषकहरु मारमा पर्दै आएको भन्दै सङ्कलन केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिल्ने बताए । तमानखोलामा ठूलो बजार नरहेको हुँदा किसानले डोकोमा बोकेर बुर्तिबाङ बजारसम्म पु¥याउनुपर्ने बाध्यता रहेकामा उक्त बाध्यताको अन्त्य हुने उनको भनाइ छ । 

गाउँपालिकाले निर्माण गरिरहेको उक्त केन्द्रमा सबै वडाबाट तरकारी तथा कृषिजन्य उत्पादन सङ्कलन गरी ल्याउने र ठूला–ठूला बजारमा यहीँबाट ‘सप्लाई’ गर्ने हुँदा बजार र उचित मूल्य पाउनेमा आशावादी रहेको पुनको भनाइ छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal