Skip to content

विश्व बैंकको सहयोगमा दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्रे गरिँदै

तनहुँ । विश्व बैंकको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौँडा लामागाउँ मोटरमार्गअन्तर्गत दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्रको तयारी गरिएको छ । नगरपालिकाको हालसम्मकै ठूलो आयोजनाअन्तर्गत रहेको उक्त खण्ड कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले सम्झौता गरेको छ । 

विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटरमार्गको ७।१ किलोमिटर दूरी कालोपत्रका लागि बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता गरिएको नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ । 

भट्टराईले भने, ‘१५ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । नगरपालिकाले यो सडकलाई नगर गौरवको आयोजनाको रुपमा छनोट गरेको थियो ।’ उनका अनुसार शुक्लागण्डकी–४ दुलेगौँडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी–८, ९ र १२ वडालाई जोड्छ । 

उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । इजिनियर भट्टराईले भने, ‘उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ । अन्य ठाउँमा नालासहितको कालोपत्र हुनेछ ।” दुलेगौँडास्थित बिपीचोक, हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ ५।५ मिटर कालोप, कालोपत्रको दुवै छेउमा एकरएक मिटरको नाला निर्माण हुने उनले जानकारी दिए ।

शुक्लागण्डकी–४ दुलेगौँडाबाट वडा नं १२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । कच्ची सडकका कारण हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ । 

सडक कालोपत्र भएपछि सहज रुपमा आवतजावत गर्न सकिने भन्दै समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरिएको नगर उपप्रमुख खुमबहादुर विकले बताए । उनले भने, ‘यो सडकलाई हामीले नगरको गौरवको आयोजनाको रुपमा राखेका छौँ । सडक कालोपत्र भएपछि सर्वसाधारणलाई सहज रुपमा आवतजावत गर्न सहयोग पुग्नुका साथै आन्तरिक पर्यटकलाई लामागाउँसम्म जान समेत सजिलो हुनेछ ।’

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal