Skip to content

बजेट नआएपछि विद्यालय भवन निर्माण योजना अधुरै

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवनको काम प्रभावित बनेको छ । सङ्घीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले गत वर्षदेखि निर्माण सुरु गरेको १८ कोठा भएको सुविधा सम्पन्न विद्यालय भवन निर्माण योजना थप बजेट नआएको कारण प्रभावित बनेको हो । 

निर्माण व्यवसायीले भवन निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याए पनि सङ्घीय सरकारबाट थप बजेट नआएका कारण भवनलाई पूर्णता दिन समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताए । निर्माण व्यवसायीलाई गाउँपालिकाले करिब रु एक करोड ८४ लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

सम्झौताबमोजिमको बजेट सरकारले नपठाएपछि गाउँपालिका अध्यक्ष भारतकुमार पुन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङलगायत टोलीले अर्थमन्त्री वर्षमान पुन र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठ समेतलाई भेटेर ध्यानाकर्षणसमेत गराएका छन् । ‘निर्माण व्यवसायीले गत फागुनभित्रै काम सक्ने स्थिति थियो तर सरकारले दिनुपर्ने भुक्तानी नै पठाएन, हामी अहिले पनि काठमाडौँमा निरन्तर ध्यानाकर्षण गराउन गइरहेका छौँ, पठाउन बाँकी थप बजेट पठाउने कुनै सङ्केत देखिएको छैन,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले भने । 

काम गरेको रकम भुक्तानी नपाएपछि  निर्माण व्यवसायीले अहिले भवन निर्माण कार्यलाई स्थगित गरेका छन् । भवन निर्माणको थप बजेट सङ्घीय सरकारबाट गाउँपालिकालाई प्राप्त नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। 

‘भवनको अधिकांश काम सकिएको छ तर निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम माथिबाट आएको छैन, योजनाको काम नै रोकिने अवस्थामा पुगेको छ,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने । 

राष्ट्रिय योजना आयोगबाट स्वीकृत बजेटबाट पालिकाले गत वर्षदेखि विद्यालय भवन बनाउन सुरु गरेको थियो । विसं २०८० वैशाख २४ गते जयलक्ष्मी÷अभिनव जेभी बागलुङसँग २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने गरी रु तीन करोड ८४ लाख १८ हजार नौ सय सात लागतमा उक्त भवन निर्माण योजनाको ठेक्का सम्झौता भएको थियो । 

निर्माण कम्पनीले भवन निर्माणको काम सकेर झ्यालढोका राख्ने, रङ्गरोगन गर्नेलगायत फिनिसिङको काम मात्रै बाँकी रहेको जनाएको छ । भवनको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी भएको गाउँपालिकाका सब–इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए।

निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्ने झ्यालढोका र स्टिल फर्निचरलगायत सामग्रीहरु तयारी अवस्थामा राखेको र थप भुक्तानी गर्नुपर्ने रकमको व्यवस्थापन भएमा भवनले छिट्टै पूर्णता पाउने उनको भनाइ छ । कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङको समेत पठनपाठन हुने यस विद्यालयमा करिब तीन सय विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयको भवन निर्माण योजना अधुरो हुँदा विद्यालयको नियमित पठनपाठनमा समेत प्रभावित हुने गरेको विद्यालयले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal