Skip to content

‘दूरसञ्चार क्षेत्रको विकासमा भरपर्दो नीतिगत र कानुनी प्रबन्ध आवश्यक’

काठमाडौं । दूरसञ्चार क्षेत्रलाई विकासको मेरुदण्डका रुपमा अघि बढाउन सरकार, सेवा प्रदायक र सरोकारवाला निकायको समन्वयमा भरपर्दो नीतिगत तथा कानुनी प्रबन्ध गरिनुपर्नेमा जोड दिइएको छ । 

प्रविधि पत्रकार मञ्च (टिजेएफ)ले आज यहाँ आयोजना गरेको ‘नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ विषयको अन्तरक्रियामा सहभागीले दूरसञ्चार क्षेत्रका विकासका लागि विशेष योजना ल्याइनुपर्नेमा सरकारको ध्यानकर्षण गराए ।

 

पछिल्ला समय दूरसञ्चार सेवाको आम्दानी र राजस्व घटिरहेको अवस्थालाई सरोकारवालाले गम्भीर रुपमा लिनुपर्नेमा जोड दिँदै उनीहरुले दूरसञ्चार क्षेत्रमा लगानीको उपयुक्त वातावरण निर्माण गरिनुपर्ने बताए ।

 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले गुणस्तरीय सेवा उपलब्ध गराएर सेवा प्रदायकले आम्दानी गर्नेतर्फ ध्यान दिनु आवश्यक हुने बताए। राज्यले डिजिटल पूर्वाधारमा लागनी बढाउनुपर्ने र निजी क्षेत्रले सेवा प्रवाहलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आगामी महिना हुने लगानी सम्मेलनमा सूचना प्रविधिका विशेष परियोजना ‘शो केस’मा राख्ने तयारी गरिएको बताए ।

 

नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले दूरसञ्चार क्षेत्रका चुनौतीलाई समाधान गर्न सरकार र नियामक निकायले ध्यान दिनुपर्ने बताउनुभयो । टेलिकम क्षेत्रमा स्वच्छ प्रतिस्पर्धाको पक्षमा नेपाल टेलिकम रहेको उल्लेख गर्दै उनले टेलिकमले सहरी क्षेत्र मात्र नभई ग्रामीण भेकमा पनि दूरसञ्चार सेवा दिन क्रियाशील रहेको बताए ।

 

 निजी क्षेत्रको सेवा प्रदायक एनसेलका कानुनी सल्लाहकार विशाल उपाध्यायले दूरसञ्चार क्षेत्रमा लगानी बढाउनका लागि आर्थिक खुकुलोपनको व्यवस्था गर्न तथा लगानीको वातावरण बनाउन सुझाव दिए । दूरसञ्चार क्षेत्रलाई विविधकरण गर्नुपर्नेमा जोड दिँदै उनले यससँग सम्बन्धित कानुनलाई समयानुकूल बनाइनुपर्ने बताए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal