Skip to content

मुद्दति निक्षेपभन्दा सुनको लगानी फाइदा, एक वर्षमा २३ प्रतिशतको रिटर्न

काठमाडौँ । शेयर लगानीकर्ताका लागि पछिल्लो एक वर्ष निराशाजनक रह्यो । कोरोनामा बुम भएको पुँजीबजार केही समययता भने सुस्त छ । लगानीकर्ताहरु कहिले शेयर बजारमा हरियाली छाउला र शेयर बेचौँला भन्ने अवस्थामा छन् । 

पछिल्लो एक वर्षमा घरजग्गाको अवस्था पनि उस्तै छ । लगानीकर्ताहरु घरजग्गाको लगानी उठाउन नसकेको अवस्था छ । यस्तोमा सबैभन्दा सुरक्षित मानिएको मुद्दति निक्षेपले पनि आशातित प्रतिफल दिन सकेन । तर सुनमा लगानी गर्नेका लागि भने पछिल्लो एक वर्ष सुखद् रह्यो । 

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष चैतमा मुद्दति निक्षेपमा औसत ब्याजदर ८.२६ प्रतिशत थियो । यदि गत वर्षको चैतमा कसैले एक लाख रुपैयाँ मुद्दति निक्षेपमा राखेको थियो भने अहिले उसले ८.२६ प्रतिशतको रिर्टन पाउथ्यो । त्यसमा पनि कर काटेर हात पर्दा कम हुन्थ्यो ।

तर सुनमा लगानी गर्नेहरु भने मालामाल भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत चैत २६ गते एक तोलालाई १ लाख १० हजार पर्दथ्यो । तत्कालीन समयमा यदि कसैले एक तोला सुन किनेको थियो भने आजका दिनमा उसले २६ हजार दुई सय कमाएको छ । अर्थात् उसको आम्दानी मुद्दति निक्षेपको तुलनामा झण्डै तीन गुणाले बढी बढेको छ ।

यदि उक्त व्यक्तिले एक लाख मुद्दति निक्षेपमा राख्दा ८ हजार रुपैयाँ पाउन्थ्यो भने सुनमा एक लाख लगानी गरेको भए करिब २० हजार हात पर्ने थियो । अर्थात् करिब तीन गुणा बढी प्रतिफल आउँथ्यो ।

चाँदीको हकमा पनि त्यस्तै छ । चाँदीमा लगानी गर्नेहरुले एक  वर्षमा करिब १७ प्रतिशत नाफा कमाएका छन् । गत वर्ष प्रतितोला एक हजार ४४० रुपैयाँमा चाँदी खरिद गरेकाहरुले यतिबेला प्रतितोला एक हजार ६८५ अर्थात करिब १७ प्रतिशतको प्रतिफल पाएका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal