Skip to content

मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट

दमौली ।  आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।

मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी उक्त कम्पनीसँग सम्झौता गरिसकेको छ । 

सो जलाशयमा तत्काल रु एक करोडको लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले बताए । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ । 

जलाशयमा नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ । जलाशयनजिक प्रसिद्ध धार्मिक स्थल अल्कादेवी मन्दिर पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष चुमानको भनाइ छ । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनले विश्वास व्यक्त  गरे । 

कम्पनीले थप तीन करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु प्वाइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने योजना छ ।

यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सो कम्पनीका सञ्चालक ढकालले जानकारी दिए । 

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न प्रतिव्यक्ति  दुई देखि ५० रुपैयाँ, दशदेखि १२ मिनेटसम्मका लागि प्रतिव्यक्ति  पाँच सय रुपैयाँ र १५ देखि २० मिनेटसम्मका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ ताकिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal