Skip to content
Prabhu

रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्योः जेलेन्स्की

युक्रेन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले ‘महत्वपूर्ण पूर्वाधार’ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन् ।  

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्स मार्फत रुसी हमलाका बारेमा जानकारी दिँदै केही क्षेप्यास्त्र र ड्रोनलाई युक्रेनी प्रतिरक्षा फौजले सफलतापूर्वक खसालिदिएको बताएका छन् ।

रुसले युक्रेनका विद्युत, सञ्चार, रेल्वे समेतका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेकामा उहाँले असन्तुष्टि व्यक्त गरेका छन् । यी आक्रमणबाट कुनै पनि व्यक्ति हताहत नभएको पनि युक्रेनको भनाई छ ।

रुसले राजधानी शहर किभ, जापोरिझिया र ओडेसाका साथै पोल्यान्डसँग सीमा जोडिएको लभिभ शहरलाई पनि लक्षित गरी आक्रमण गरेको छ । 

राष्ट्रपति जेलेन्स्कीले युक्रेनको दोस्रो ठूलो सहर खार्किब र त्यस वरपरको क्षेत्रमा पनि क्षेप्यास्त्रहरुबाट आक्रमण गरेको बताएका छन् । यस सहरलाई केन्द्रित गरेर पछिल्ला दिनहरुमा रुसले निरन्तर आक्रमण गरिरहेको छ ।

युक्रेनका गृहमन्त्री आइगोर क्लिमेन्कोले देशका विभिन्न भागमा सयौं उद्धारकर्मीहरु परिचालन गरिएको जानकारी दिएका छन् । 

यसैबीच, रुसले पनि रुसका विभिन्न शहरलाई लक्षित गरी प्रहार गरिएका १२ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । युक्रेनले पनि रुसका विभिन्न भागमा ड्रोनमार्फत केही महिनादेखि लगातार हमला गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal