Skip to content

वनस्पतिको दिगो उपयोगमार्फत राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्छः वनमन्त्री सुडी

काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पतिको दिगो उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् । वनस्पति विभागको ६४औँ वार्षिकोत्सव तथा २५औँ वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री साहले वनस्पतिका माध्यमबाट मुलुकको अर्थतन्त्र सुधारमा जोड दिएका हुन् । 

‘स्थानीय समुन्नतिमा स्वस्थानीय वनस्पति’ नाराका साथ सम्पन्न विभागको वार्षिकोत्सवमा मन्त्री साहले वनस्पति राज्यको अर्थतन्त्र सुधारको मेरुदण्ड रहेको भन्दै अब वनस्पतिका माध्यमबाट राज्यको अर्थतन्त्र सुधार गरी रोजगारी वृद्धि गर्न आवश्यक रहेको बताए। ‘सीमित स्रोतसाधनका बीचमा पनि वनस्पतिको अनुसन्धानका गतिविधि अगाडि बढाइएको छ’, उनले भने, अनुसन्धानको गतिविधिलाई अझै प्राथमिकता दिइ वनस्पतिको दिगो उपयोगमार्फत राज्यको अर्थतन्त्र सुधारमा योगदान बढाउनुपर्छ ।’ 

मन्त्रालयका सचिव डा दीपककुमार खरालले वनस्पतिबाट आर्थिक आयआर्जन बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । वनभित्रको जडीबुटीलाई औषधिका रुपमा प्रयोग बढाएर जडीबुटीका माध्यमबाट अर्थतन्त्र सुधारमा लाग्न आवश्यक रहेको उनको भनाइ थियो ।

विभागका महानिर्देशक डा सञ्जिवकुमार राईले मानव स्रोत विकासमा पर्याप्त लगानीको आवश्यकता रहेकामा जोड दिएका छन् । वनस्पति विभागले स्थापनाकालदेखि नै वनस्पतिक स्रोतको पहिचान, सदुपयोग एवं प्रविधि विकास गरी आर्थिक रुपमा समृद्ध राष्ट्र निर्माणमा आफूलाई समर्पित गरेको छ । 

नेपालमा वनस्पतिक स्रोतको अध्ययन, अनुसन्धान तथा प्राध्यापनमा लामो समय समर्पित रही वनस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान दिएका प्राध्यापक डा लोकेश रत्न शाक्यलाई राष्ट्रिय वनस्पति पुरस्कारले सम्मानित गरिएको छ । 

यस वर्षको राष्ट्रिय वनस्पति दिवसको नारा ‘स्थानीय समुन्नतिमा स्वस्थानीय वनस्पति’ नामक शीर्षकमा गत वर्ष राष्ट्रिय वनस्पति पुरस्कार विसं २०७९ बाट सम्मानित प्राध्यापक डा निर्मला प्रधानले विशेष प्रवचन दिएका थिए।

वनस्पति विभागअन्तर्गत राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीबाट प्रकाशित र प्राध्यापक डा शिवकुमार राई र सजिता ढकालबाट लिखित ‘अलगल फ्लोरा अफ नेपाल भोलुम टु’ नामक पुस्तक मन्त्रालयका सचिव डा दीपककुमार खरालबाट विमोचन गरियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal