Skip to content

रुवीभ्याली गाउँपालिकालाई एम्बुलेन्स सहयोग

धादिङ । धादिङको विकट  रुवीभ्याली गाउँपालिकाले अब आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

उच्च पहाडी क्षेत्रको विकट बस्तीका नागरिक बिरामी पर्दा ओसारपसारमा सहजता ल्याउन ‘हिमालयन हेल्थ केयर नेपाल’ नामक सामाजिक संस्थाले सो गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको हो । विगत ३२ वर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको संस्थाले यस पटक एम्बुलेन्स सहयोग उपलब्ध गराएको रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले बताए ।

रुवीभ्यालीमा एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामी पर्दा महँगो शुल्क तिरेर हेलिकप्टर चार्टड गर्नुपर्ने स्थानीयको बाध्यता हट्ने भएको छ । सडक सञ्जाल र एम्बुलेन्स नहुँदा हेलिकप्टर चार्टड गरेर बिरामीलाई अस्पताल लैजाने गरिएको उपाध्यक्ष तामाङले बताए । 

‘पोहोरसम्म सडक थिएन, पुल नहुँदा गाडी चल्दैनथे । यस वर्ष धादिङबेँसी तिप्लिङ सडकको मुख्य दुई ठाउँमा पुल निर्माण गरिएको छ’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा सडक सञ्जाल सहज भएसँगै संस्थाको सहयोगमा एम्बुलेन्स सञ्चालन हुँदा स्थानीयले राहत महसुस गर्नेछन् ।’ एम्बुलेन्स सञ्चालन गर्न छुट्टै समिति निर्माण गरी कार्यविधि बनाएर प्रयोगमा ल्याइने उपाध्यक्ष तामाङले जानकारी दिए। एम्बुलेन्स रुवीभ्याली आधारभूत अस्पतालले सञ्चालन गर्नेछ ।

गाउँपालिकासँग तीन दशकदेखिको सहकार्य गर्दै आएकोमा अहिले एम्बुलेन्स सहयोग गरिएको हिमालयन हेल्थ केयर नेपालका कार्यकारी निर्देशक तुलमणि बस्नेतले बताउनुभयो । आगामी दिनमा गाउँपालिकालाई  १० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरिने उनको भनाइ छ । सडक सञ्जाल नहुँदा रुवीभ्यालीबाट सदरमुकाम धादिङबेँसी आउजाउ गर्न तीनदेखि चार दिन पैदल हिँड्नुपर्छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal