Skip to content

नेपालको समृद्धिका लगानी सम्मेलन, लगानी बोर्डका सीईओ सुशील भट्टको विचार

नेपाल सरकारको आयोजनामा आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९ तारिख) तेस्रो लगानी सम्मेलन २०२४ हुँदै छ । यसअघि सरकारले सन् २०१७ र सन् २०१९ मा लगानी सम्मेलन गरिसकेको छ, यो तेस्रो लगानी सम्मेलन हो ।

लगानीसम्बन्धी काम गर्ने विशिष्टीकृत सरकारी संस्था भएका कारण लगानी बोर्ड नेपालले सचिवालयको रूपमा यसको आन्तरिक तयारी गरिरहेको छ । लगानीको प्रवद्र्धन गर्ने र भित्र्याउने उद्देश्यसहित नै राष्ट्रिय उत्सवको रूपमा तेस्रो लगानी सम्मेलन गर्दै छौं । यसले विभिन्न परियोजनामा स्वदेशी तथा विदेशी लगानी जुटाएर समग्र अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विश्वास छ । 

लगानी प्रवद्र्धनकै लागि यस्ता कार्यक्रम गरिन्छ । यसबाट लगानीकर्तालाई सम्बन्धित मुलुकको लगानीको वातावरण कस्तो छ भन्ने विषयमा जानकारी हुन्छ । नीतिगत तथा कानूनी व्यवस्था, लगानीका सम्भावित क्षेत्र तथा परियोजना र लगानीलाई प्रभाव पार्ने विभिन्न पक्षबारे पनि यसै मार्फत लगानीकर्तालाई जानकारी गराइन्छ । यसरी लगानी प्रवद्र्धन सम्बन्धमा ‘लगानी सम्मेलन’ सबैभन्दा उपयुक्त मञ्च बनेको हो । 

सम्मेलनमा विभिन्न आधारमा छानिएका परियोनाहरूलाई सोकेस (प्रस्तुत) गरिन्छ । साथै, केही अध्ययन भएका परियोजना पनि सम्मेलनमा प्रस्तुत गरिन्छ । त्यसपछि लगानीकर्ताहरूको चासो र सरोकारका बारेमा जानकारी लिइन्छ । साथै, नीतिगत पक्षपोषणको सामग्रीको रूपमा समेत उपयोग गरिन्छ । यसैगरी, लगानी सम्मेलनमा विकास साझेदारहरू, विदेशी लगानीकर्ताहरू, वित्तीय संस्थाहरू, स्वदेशी लगानीकर्ता र निजी क्षेत्रबीच अन्तत्र्रिmयाको अवसरसमेत यसले सिर्जना गर्छ । मुख्यतः यही उद्देश्यअनुसार हामी लगानी सम्मेलन गर्दै छौं । यसपटक अझ परिष्कृत ढंगले आसन्न लगानी सम्मेलन गर्दै छौं ।

सम्मेलनमा ‘नेपालमा लगानीको वातावरण कस्तो छ ? कुन क्षेत्र लगानीका लागि उपयुक्त छ ? कस्ता परियोजनामा लगानी गर्न सकिन्छ ?’ लगायत विषयमा छलफल हुन्छ । नेपालको लगानीको वातावरणमा भएको सुधार र परिमार्जित नीति तथा कानूनबारे पनि लगानीकर्तालाई जानकारी गराइन्छ । लगानी सम्मेलनमा प्रस्तुत गर्न हामीसँग अध्ययन सम्पन्न भएका केही परियोजनाहरू छन्, जुन आयोजना लगानीका लागि तयारी अवस्थामा छन् । त्यस्ता परियोजनामा लगाानी जुटाउन जोड गर्छाैं । स्टार्टअप र आईटी क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौं । यसका अलावा लगानीकर्ताको चासो तथा सरोकार बुझ्छौं र त्यसै अनुसार अघि बढ्छौं । यसपटक लगानी सम्मेलनमा विदेशी र स्वदेशी निजीक्षेत्रसँग गहिरो सहकार्य भएको देख्न चाहन्छौं ।

अहिलेसम्म सरकारले विदेशी निजी क्षेत्रलाई (जीटुबी मोडल) लगानीको लागि पहल, सहजीकरण र प्रवद्र्धन गर्दै आएको छ । अब स्वदेशी निजी क्षेत्रको पहलमा विदेशी निजी क्षेत्रले पनि नेपालमा लगानी गरोस् भन्ने  चाहना पनि हो । ‘बीटुबी’ मोडलमा लगानी आओस् भन्ने चाहना हाम्रो छ, त्यसको लागि पनि यो उपयुक्त अवसर हो । यही उद्देश्यअनुसार पनि  लगानी सम्मेलनमा निजी क्षेत्रका तीन ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई सहआयोजक बनाएका छौं । 

अब विकास निर्माणमा निजी क्षेत्रलाई मूलधारमा ल्याउनै पर्छ । यो कुरा ऊर्जा क्षेत्रले पहिले नै बुझ्यो । निजी क्षेत्रको प्रवेशकै कारण ऊर्जा क्षेत्र अहिले नयाँ उचाइमा आएको जस्तो लाग्छ । अब अन्य क्षेत्रमा पनि निजी क्षेत्रको प्रवेश हुनुपर्छ । 

लगानी सम्मेलन सफलताका कथा (सक्सेस स्टोरी) सुनाउने ठाउँ पनि हो । त्यसले थप लगानी ल्याउन प्रोत्साहन गर्छ जस्तो लाग्छ । विदेशी लगानीका थुप्रै परियोजना नेपालमा व्यावसायिक रूपमा सफल छन् । युनिलिभर नेपाल, डाबर नेपाल, कोकाकोला, होङ्सी सिमेन्ट, ह्वासिन सिमेन्टलगायत विदेशी लगानीका परियोजना नेपालमा व्यावसायिक रूपमा सफल छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ४० हजार रुपैयाँ हारहारीमा छ । सम्भवतः नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी नै यही हो । सेयर बजारमा विदेशी लगानीको कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै छ, यसले पनि नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको पुष्टि गर्छ । 

भारतीय कम्पनी एसजेभीएनको लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रोलगायत जलविद्युत् आयोजना पनि सफल छन् । सोही कम्पनीले अन्य जलविद्युत् आयोजनामा पनि लगानी गर्र्दै छ । यी बाहेक थुप्रै आयोजना लगानी बोर्डको सहजीकरणमा विभिन्न चरणमा अघि बढेका छन् । कुनै अध्ययनका क्रममा छन् भने कुनै निर्माणाधीन छन् । उनीहरूलाई विकास निर्माणको चरणअनुसार सहजीकरण गर्दै आएका छौं । 

विशेषगरी निर्माणाधीन केही आयोजनाले दुःख पाएका छन् । उनीहरूलाई हामी (लगानी बोर्ड) दुःखको साथी छौं भनेर पनि हौसला प्रदान गरेका छौं । उनीहरूको समस्या समाधान गर्न लागिपरेका छौं । उनीहरूको आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने छ । त्यस्ता आयोजनालाई सफल बनाउन सकिएन भने थप समस्या उत्पन्न हुुन्छ । तसर्थ, समयमै परियोजना सफल बनाउन हामी लागिपरेका छौं । 

नेपालमा लगानी गरेर विभिन्न माध्यमबाट नेपालको सामाजिक आर्थिक विकासमा योगदान गरेका लगानीकर्तालाई पहिचान गर्ने थलो पनि हो यो । उनीहरूको अनुभव सुन्न र सुनाउन पनि यो सम्मेलन उपयुक्त छ । नेपालमा लगानी गरेका लगानीकर्ताले आफ्नो अनुभव सुनाउँदा पनि सकारात्मक प्रभाव पर्छ । 

समग्रमा अब नेपाललाई लगानीका लागि आकर्षक गन्तव्य भनेर विश्वभर चिनाउनुपर्र्ने छ । पुराना लगानीकर्तालाई पुनः लगानी गर्न प्रस्ताव गर्नुपर्ने छ । यद्यपि, कतिपय पुराना लगानीकर्ता रिसाएका पनि हुन सक्छन्, उनीहरूलाई पनि फकाउनुपर्ने छ । साथै, नयाँ लगानीकर्ता पनि आकर्षित गर्नुपर्छ । यसका लागि लगानी सम्मेलन आवश्यक छ । 

लगानीकर्ताले नेपालमा ऋण तथा लगानी परिचालन गरून् भन्ने चाहना त भइहाल्यो । उनीहरूले नेपालको आर्थिक सामाजिक विकासमा पनि योगदान गरून् भन्ने चाहना हो । त्यसले अर्थतन्त्र चलायमान पनि हुन्छ । अहिलेको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पनि लगानी आवश्यक छ । त्यसकारण पनि अहिले लगानी सम्मेलनको महत्व अझ बढी छ । 

विभिन्न सेमिनार, बैठक, कार्यक्रम, गोष्ठीले पनि लगानी प्रवद्र्धन गरेको हुन्छ । लगानी सम्मेलनले भने लगानी प्रवद्र्धनलाई अझ बृहत् रूपमा अगाडि बढाउँछ । नेपाल सरकार, नेपालमा निजी क्षेत्र, विदेशका निजी क्षेत्र, विभिन्न दातृ निकायबीच आबद्धता, नेटवर्किङ बढाउन पनि यसले ठूलो सहयोग गर्छ ।

उद्योग विभागलाई पनि अवसर

उद्योग विभागका लागि पनि लगानी सम्मेलन ठूलो अवसर हो । किनकि, विभाग पनि लगानी प्रवद्र्धन गर्ने निकाय हो । लगानी बोर्डले ६ अर्बभन्दा बढी लागत भएका परियोजना र ऊर्जातर्फ २०० मेगावाट बढी क्षमताका परियोजनामा लगानी प्रवद्र्धन गर्ने हो । त्यसबाहेक अन्य आयोजनामा त विभागले नै लगानी प्रवद्र्धन तथा सहजीकरण गर्ने हो । त्यो अवस्थामा उद्योग विभागका लागि पनि यो सम्मेलन निकै महत्वपूर्ण हुन्छ ।

ज्ञानका लागि पनि उपयुक्त 

परियोजना निर्माण तथा लगानी प्रवद्र्धनमा ज्ञान पनि महत्वपूर्ण पक्ष हो । हामीसँग ज्ञान सीमित हुन सक्छ । तर, यसले धेरै ज्ञान माग्छ । त्यो अवस्थामा लगानी सम्मेलन हामीलाई ज्ञान प्राप्त गर्ने अवसरको रूपमा पनि लिएका छौं । स्वदेश तथा विदेशका विज्ञ, लगानीकर्ता, सरोकारवाला निकायहरूबाट ज्ञान प्राप्त गर्ने अवसर पक्कै सिर्जना हुन्छ । लगानी भित्र्याउनेसँगै ज्ञान, सीप, प्रविधि आदानप्रदानका लागि पनि यो ठूलो अवसर हो । 

लगानीकर्ताको चासो र लक्ष्य बुझ्ने अवसर

लगानीकर्ताको चासो र लक्ष्य बुझ्न पनि यसको आवश्यकता छ ।  लगानीको सम्बन्धमा हाम्रो मात्रै लक्ष्य हुँदैन, लगानीकर्ताको पनि लक्ष्य तथा चाहना हुन सक्छन् । त्यसलाई हामीले बेवास्ता गर्नु हुँदैन । उनीहरू के चाहन्छन् ? कस्तो नीति चाहन्छन् ? यस्ता विषय बुझ्ने अवसर हुन्छ, त्यो रूपमा पनि लगानी सम्मेलनलाई लिनुपर्छ । 

जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी अवसरको सदुपयोग 

बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न विश्वमा विभिन्न अवसर देखापरेका छन् । जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न विभिन्न कोषहरू स्थापना भएका छन् । कतिपयले यसमा लगानी गर्न खोजेका छन् । त्यस्ता अवसरलाई प्राप्ति गर्न पनि यो सम्मेलनको महत्व छ ।

अर्थतन्त्र चलायमान बनाउने सम्मेलन

अहिले विकास निर्माणमा राज्यको स्रोतमा संकुचन आएको छ । अन्य मुलुकमा पनि यस्ता समस्या देखिएका थिए । तर, अब नेपाल यसबाट माथि उठ्नुपर्छ । त्यसको लागि निजी क्षेत्रको उपस्थिति अपरिहार्य जस्तो लाग्छ । तसर्थ, विकासको मूूलधारमा निजी क्षेत्रको उपस्थिति बढाउने नीति आउनुपर्छ । निजी क्षेत्र यतिकै जोखिम बहन मात्रै गर्न आउँदैनन्, प्रतिफल पनि चाहन्छन् । सोहीअनुसार निजी क्षेत्रलाई विकासको मूलधारमा ल्याउनुपर्छ । त्यसका लागि पनि यो लगानी सम्मेलन बढी महत्वपूर्ण छ ।

विगतका लगानी सम्मेलनलाई फर्केर हेर्दा 


लगानी सम्मेलन कति सफल रह्यो भन्ने विषयमा मूल्यांकनको मापदण्ड नै तयार गर्नुपर्छ । तर, नेपाललाई लगानी गन्तव्यको रूपमा विश्वमा चिनाउन विगतका सम्मेलनले सहयोग गरेको हो । साथै, लगानीकर्ताको चासो र सरोकार प्राप्त गर्न र केही परियोजनामा लगानी भित्र्याउन पनि पहिलाका सम्मेलनले सहयोग ग¥यो । तसर्थ, सम्मेलन सफल नै भएको जस्तो लाग्छ । 

लगानी सम्मेलनमा व्यक्त लगानी प्रतिबद्धताअनुसार लगानी नआएको हुनाले विगतका लगानी सम्मेलन सफल भएन पनि भन्न सकिन्छ । तर, त्यसका आधारमा मात्रै विगतका लगानी सम्मेलन समीक्षा गर्न हुँदैन, त्यसले न्याय गर्दैन । 

विगतका लगानी सम्मेलनकै कारण नीतिगत तथा कानुनी सुधार भएको देखिन्छ । सन् २०१९ को लगानी सम्मेलनका लागि सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, विशेष आर्थिक क्षेत्र ऐनमा पहिलो संशोधन, हेजिङ नियमावली, कम्पनी ऐन, श्रम ऐन, औद्योगिक व्यवसाय ऐन र कलावरण संरक्षण ऐनमा पाँचौं संशोधन भएका थिए ।

सम्मेलनले विदेशस्थित कूटनीतिक नियोगहरू आर्थिक कूटनीतिमा सक्रिय हुन्छन् । लगानीकर्ताको भेटघाट छलफलको वातावरण हुन्छ र आपसी विश्वासको सिर्जना हुन्छ । सन् २०१९ को लगानी सम्मेलनको क्रममा द्विपक्षीय ३६, व्यावसायिक संस्था र सरकारी निकायबीच ३९ र व्यावसायिक संस्थाबीच ३० वटा वार्ता भए, जसले लगानीको वातावरण बनाउन दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पारेको छ । लगानी बोर्डले प्रस्तुत गरेका परियोजनामा विविध कारणले लगानी नआए पनि लगानी सम्मेलनपछिका आवहरूमा बढी लगानी भित्रएका छन् । यो पनि सफलता नै हो । यसको मूल्य अंकमा किटान गर्न सकिन्न । 

अघिल्ला लगानी सम्मेलनले नेपाललाई लगानी गन्तव्यको रूपमा विश्वभर चिनाउन सफल भएको छ । त्यसबेला धेरै विदेशी लगानीकर्तालाई बोलाएर हाम्रो कुराहरू राख्न सक्यौं । त्यसपछिका वर्षहरूमा लगानी आप्रवाहसमेत बढेको तथ्यांकले देखाएको छ । 

नेपाललाई लगानीको गन्तव्यको रूपमा चिनाउन सकेकोे कारण सन् २०१९÷२० मा ५२ देशबाट लगानी आएको थियो । हालसम्म ५७ वटा देशबाट नेपालमा लगानी भित्रिएको छ । लगानी बोर्डअन्तर्गत साढे ४ खर्ब बराबरको परियोजना कार्यान्वयनमा गएका छन् । अब छिटै डेढ खर्बका परियोजना तत्काल कार्यान्वयनमा प्रवेश गर्दै छन् । झण्डै साढे १२ खर्बको लगानी स्वीकृत हुँदा यतिका आयोजना कार्यान्वनमा प्रवेश गर्नु ठूलो उपलब्धि हो । 

यो बाहेक लगानी स्वीकृत पनि बढ्दो क्रममा छ । लगानी प्राप्तिमा (नेपाल राष्ट्र बैंकको तथ्यांक) भने केही उतारचढाव छ । यो छुट्टै बहसको विषय हो । तर, हामीले लगानी स्वीकृत तथा प्रतिबद्धतालाई नै उपलब्धि मान्न हुँदैन । लगानी प्रतिबद्धता लगानीकर्ताको इच्छा मात्रै हो । लगानी प्राप्ति गर्न विभिन्न चरण पार गर्नुपर्छ, त्यसपछि प्राप्ति हुने हो । त्यसक्रममा लगानीकर्ताको इच्छा हराउन सक्छ । तर, विगतमा भएका प्रयासविना लगानीमा वृद्धि र विविधता हुने थिएन । त्यो कोणबाट यसलाई लिनुपर्छ । 

 यद्यपि, आसन्न लगानी सम्मेलन परिष्कृत नै हुनेछ । सम्भावित लगानीकर्तामा नै बढी लक्षित हुनेछौं । चासो राख्नेमध्येमा पनि बढी चासो राख्ने र सम्भाव्य लगानीकर्तालाई सम्मेलनमा आमन्त्रण गरिन्छ । वास्तविक लगानीकर्ता नै हाम्रो प्राथमिकतामा छन् । 

यसैगरी हामीसँग लगानीका लागि तयार भएका अर्थात् अध्ययन भएका केही परियोजना छन्, त्यस्ता आयोजना सम्मेलनमा प्रस्तुत गर्नेछौं । त्यसमा छिटै लगानी भित्रिने सम्भावना हुन्छ । कुन चरणको परियोजनामा लगानी प्रतिबद्धता आएको हो, त्यसले पनि प्राप्तिलाई असर गर्छ । यसपटक अध्ययन नै भएर लगानीका लागि तयार भएका आयोजना सम्मेलनमा प्रस्तुत हुनेछ, त्यसकारण पनि सम्मेलन प्रभावकारी हुनेछ । 

लगानीको वातावरण थप सुधार गर्न केही कानुनी सुधार भइसकेका छन् । केही ऐन तथा विनियमावली संशोधनको तयारीमा छन् । त्यस्ता कानुनी पक्ष पनि सम्मेलनमा प्रस्तुत हुन्छ । 

नेपालमा लगानी गरिरहेका, लगानी गर्न इच्छुक र स्वदेशी लगानीकर्ताबीच छलफलको साझा मञ्च पनि सिर्जना गरिनेछ र थप विश्वासको वातावरण तयार गरिनेछ । पहिलाका लगानी सम्मेलनका उपलब्धि र पाठहरूबाट शिक्षा लिएर यो लगानी सम्मेलन गर्नेछौं । 

लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजनाको छनोटको काम पनि तीव्र तयारीमा भइरहेको छ । नेपालको विशेषता, आवश्यकता र सम्भाव्यतालाई विश्लेषण गरेर परियोजना प्रस्तुत हुनेछन् । त्यसभन्दा फरक किसिमको परियोजनाको लागि पनि लगानीकर्ताले प्रस्ताव गर्न सक्छन्, त्यसको पनि हामी स्वागत नै गर्छौं ।  यद्यपि, ‘पसलमा राखेका सबै सामान बिक्री हुन्छन्’ भन्ने मान्यतामा बस्न हुँदैन । सम्मेलनमा प्रस्तुत सबै आयोजनामा लगानी नआउन पनि सक्छ । तर, हामी सबैभन्दा बढी परियोजनामा लगानी भित्र्याउने लक्ष्यमा छौं । सम्मेलनमै केही ‘ग्राउण्ड ब्रेक’ हुने अपेक्षा गरेका छौं । केही महत्वपूर्ण सम्झौता पनि होस् भन्ने चाहना छ । 

अन्त्यमा, 

लगानी प्रवद्र्धन निरन्तर प्रक्रिया हो । त्यसको माध्यम फरक हुन सक्छ । त्यसमा लगानी सम्मेलन बढी प्रभावकारी हुन्छ । तसर्थ, लगानी सम्मेलन गरिराख्नुपर्छ ।

नेपालको आर्थिक विकासको लागि यो अपरिहार्य छ । तसर्थ, आसन्न लगानी सम्मेलनलाई प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्छ । यसमा सरकार, राजनीतिक दल, सरोकारवाला निकाय, निजी क्षेत्र, विज्ञहरू सबैको महत्वपूर्ण भूमिका र सहयोगको आवश्यकता छ, त्यसमा म आशावादी छु । 

यो लगानी सम्मेलनलाई सफल बनाउन उच्च राजनीतिक नेतृत्वबाट बलियो प्रतिवद्धता आएको छ । यो राष्ट्रिय उत्सवलाई सफल बनाउन सबै एकबद्ध भएर अघि बढौं । यो सफल भएमा मुलुकको आर्थिक तथा सामाजिक विकासमै ठूलो योगदान पुग्छ, तसर्थ यसलाई सफल बनाउनतर्फ लागौं ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal