Skip to content

हिमालयन रिको सेयर खरिदबिक्रीः सुलभ अग्रवाल र मुकुन्द तिमिल्सिनाबीच लेनदेनमा २८ करोडको विवाद

काठमाडौं । हिमालयन रि इस्योरेन्सको सेयर खरिदबिक्रीको विषयमा दुई व्यवसायी सुलभ अग्रवाल र मुकुन्द तिमिल्सनाबीच विवाद भएको छ ।

हिमालयन रिइस्योरेन्सको सेयर खरिदको लागि सुलभ अग्रवाललाई ३४ करोड ८० लाख रुपैयाँ बुझाएपनि सो अनुसारको सेयर नपाएको आरोप मुकुन्द तिमिल्सिनाको छ । ३४ करोड ८० लाख रुपैयाँको हिसाबले हिमालयन रिमा ३४ लाख ८० हजार कित्ता सेयर पाउनुपर्नेमा सुलभबाट ६ लाख ७५ हजार कित्ताभन्दा बढी सेयर पाएको तिमिल्सिनाले बताए ।

“३४ लाख ८० हजार कित्ता किन्ने भनेर सुलभसँग डिल भएको थियो,”तिमिल्सिनाले लगानीन्यूजसँग भने,“६ लाख ७५ हजार कित्ता सेयर पाएपनि त्यो भन्दा बढीको सेयर पाउन सकिन भने रकम समेत आएन।”

शंकर ग्रुप हिमालयन रि इस्योरेन्सको ठूलो लगानीकर्ता हो । सुलभ अग्रवालले हिमालयन रि इस्योरेन्समा आफूसँग भएका कम्पनीको सेयरमा अरुलाई लगानी बढाउने योजना अन्तर्गत मुकुन्द तिमिल्सिना २ वर्ष अगाडि हिमालयन रि इस्योरेन्समा लगानी गर्न पुगेका हुन् ।

यसको लागि तिमिल्सिनाले सुलभ अग्रवालले स्थापना गरेको कामख्या फिनकोर्प प्रालि मार्फत भित्रिएका थिए । जुन कम्पनी स्थापना गर्दा एकल स्वामित्व जगदम्बा प्लोर एण्ड एग्रो पालिको तर्फबाट सुलभ अग्रवालले गरेका थिए । २०७८ बैशाख ३१ गते कामख्या फिनकोर्प प्रालि दर्ता भएको थियो ।

१० करोड रुपैयाँको पुँजी भएको कम्पनीले २०७८ साल जेठ १८ गते सेयर कल गरेर जारी पुँजीको ४० प्रतिशत रकम ३० दिनभित्र दाखिला गर्ने निर्णय गरेको थियो ।

सिमेन्ट क्षेत्रमा लगानी गरेका तिमिल्सिनाको प्रवेश त्यही बेला हुन्छ । कम्पनीमा सञ्चालकले लगानी गर्न नसकेपछि अरुलाई सेयर बिक्री गर्न पाउने प्रावधान अनुसार कामख्या फिनकोर्पमा ६ लाख कित्ता सेयर किनेर मुकुन्द तिमिल्सना र प्रज्ञान तिमिल्सिना प्रवेश गर्छन् । सुलभले बाँकी रहेको सेयर आफ्नो श्रीमति सुभी अग्रवालको नामबाट किन्छन् । यसरी कम्पनीको सञ्चालक समितिमा ३ जना हुन्छन् । तर,२०७८ असारमा नै सुलभको श्रीमति सुभी अग्रवालको नाममा रहेको कामख्या फिनकर्पमा रहेको सेयर बिक्री हुन्छ । २०७८ असार १४ मा कामख्या फिनकर्पमा रहेको ४ लाख कित्ता सेयरमध्ये मुकुन्द तिमिल्सिनाले प्रतिकित्ता ८०० को दरले २ लाख ५० हजार कित्ता र प्रज्ञान तिमिल्सिनाले १ लाख ५० हजार कित्ता प्रतिकित्ता ८ सयको दरले खरिद गर्छन् । एक महिना अगाडि स्थापना भएको कम्पनीको सेयरको मूल्य भने प्रतिकित्ता ७ सयको दरले बढेको देखिन्छ ।

“अंकल हिमालयनको सेयरमा लगानी गर्नको लागि मिलाउनुपर्ने भयो भने अनुसार सो रकमका सेयर किनबेच भएको हो,” तिमिल्सिनाले भने,“२ वर्षपछि न तोकिए बमोजिम सेयर आयो न रकम नै फिर्ता आयो।”

तिमिल्सिना समूहले सुलभ अग्रवालले सेयर दिन्छु भनेर धोका दिएको आरोप लगाएको हो । “सेयर दिन्छु अंकल मिलाएर तपाईको नाममा हस्तान्तरण हुन्छ भनेपनि अहिलेसम्म भएको छैन,”तिमिल्सिनाले भने,“पछिल्लो समय सुलभसँग सम्पर्क हुन सकेको छैन।”

तिमिल्सिनाले लगाएको आरोपको विषयमा कुरा गर्न लगानीन्यूजले सुलभ अग्रवालसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क भने भएन । यद्यपी सुलभसँग अति निकट रहेका एक व्यवसायीले भने मुकुन्द तिमिल्सनालाई माग अनुसारको सेयर सुलभले दिएको बताए । “सुलभले माग अनुसारको सेयर दिएको भएपनि पछिल्लो समय मुकुन्दजीले दुःख दिने नियत देखाउनु भएको हो,”ती व्यवसायीले भने,“हिमालयनमा पैसा लगानी गरे अनुसारको सबैले सेयर पाएका छन्।”

हिमालयन रि इस्योरेन्सलाई २०७८ सालमा लाइसेन्स दिइएको थियो । त्यो बेला प्रधानमन्त्री केपी शर्मा ओली थिए भने अर्थमन्त्री बिष्णु पौडेल । हिमालयन रि इस्योरेन्सले २०८० सालमा प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्कासन गरेको थियो । अहिले दोस्रो बजारमा हिमालयनको सेयर प्रतिकित्ता ६ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal