Skip to content

लेखा व्यवसायीबीच एकताको सन्देशसहित तेस्रो सम्मेलन सम्पन्न

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान) को आयोजनामा लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन समापन भएको छ ।

शुक्रबार ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उद्घाटन मन्तव्यसँगै सुरु भएको दोस्रो दिनको पहिलो तथा समग्रमा चौथो सत्रमा साना तथा मझौला उद्योगको दीगो व्यवसाय रणनीतिबारेमा छलफल भएको थियो जसको सेसन चियर नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले गरेका थिए । यस छलफलमा विद्यावारिधी सिग्देलले प्रस्तुती दिएका थिए । यस सत्रमा सुरेन्द्र श्रेष्ठ, एनआरएन विकास फण्डका सीइओ अनल राज भट्टराई र भायानेट कम्यूनिकेशनका सीइओ सेवा पाठकले छलफलमा भाग लिएका थिए ।

दोस्रो दिनको दोस्रो तथा समग्रमा पाचौं सत्रमा नियमनकारी निकायबीच छलफल भएको थियो । यस सेसनको चेयर आइक्यानका पूर्वअध्यक्ष युद्धराज ओलीले गरेका थिए जसमा धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरि, नेपाल राष्ट्र बैंकका निर्देशक राजन देव भट्टराई, नेपाल बीमा प्राधिकरणका उप निर्देशक बिरोध वाग्ले, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार दीपक कुमार पहाडी, सहकारी विभागका उप रजिष्ट्रार तोला राज उपाध्याय, आन्तरिक राजस्व विभागका प्रमुख कर अधिकृत प्रकाश पौडेल र केन्द्रिय अनुसन्धान ब्यूरोका एसपी होविन्द्र बोगटीले छलफलमा भाग लिए । अन्तिम सेसनमा क्षमता अभिवृद्धि र आगामी रणनीतिबारे छलफल भएको थियो । जुन सेसनको अध्यक्षता आइक्यानका पूर्वअध्यक्ष मधुविर पाण्डेले गरेका थिए जसमा कुमारी बैंकका सीइओ राम चन्द्र खनाल, शशी सत्याल, मनमोहन राज काफ्ले, स्वीटी अग्रवाल र झलक मणी लम्सालले छलफलमा भाग लिएका थिए । अन्तिममा बरिष्ठ संगितकार शम्भुजित बास्कोटाले आफ्नो अनुभव बाँडेका थिए ।

सम्मेलनको समापनका अवसरमा कार्यकारी निर्देशक सन्जय कुमार सिंहाले लेखा व्यवसायीको एकता कायम गर्न यस्तो सम्मेलनको आयोजना गर्न थालिएको जानकारी दिए । सम्मेलनमा लेखा व्यवसाय कसरी जाँदैछन्, राष्ट्रिय अन्तर्राष्ट्रिय चूनौति के हुन भन्नेबारेमा विस्तृत विमर्श गरिएको उनले जानकारी दिए ।

यसअघि सम्मेलनको उद्घाटन बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए । उनले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।

आइक्यानका अनुसार सम्मेलन अवधिभर लेखा अभ्यास, लेखा व्यवसायीको जिम्मेवारी, दीगो व्यापार रणनीति, नियमन संयोजन लगायत विषयमा छलफल भएको छ । सम्मेलनमा देशभरबाट करिब नौ सय लेखा व्यवसायीहरुले भाग लिएका छन् ।

यस पटकको सम्मेलनमा लेखा व्यवसायीहरुको अन्तर्राष्ट्रिय नियामक निकाय इन्टरनेशन फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइएफएसी)का अध्यक्ष आस्मा रेस्मौकी सहभागी भई आफ्नो मन्तब्य राखेकी थिइन् ।  नेपालले लेखा व्यवसायमा अन्तर्राष्ट्रिय अभ्यासन भित्राइरहेका कारण आफ्ना कुरा सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गरिएको आइक्यानको भनाई छ । आइक्यानको आयोजनामा सन् २०२२ मा पहिलो सम्मेलन भएको थियो । जसमा १३ सय जनाले भाग लिएका थिए । सन् २०२३ मा दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो । जसमा १२ सय जनाले भाग लिएका थिए ।

सम्मेलनको दोस्रो दिन शुक्रबार अन्तिम सत्रमा कर्मा ब्याण्डको सांस्कृतिक कार्यक्रमसहित सम्मेलन समापन गरिएको छ । सम्मेलन बिहीबारदेखि काठमार्डौंमा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal