Skip to content

पराशर मार्गमा कालोपत्रे सुरु

तनहुँ । व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्रे गर्न सुरु भएको छ ।

आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले टेण्डर प्रक्रिया पूरा गरी निर्माण थालिएको हो ।

पराशर मार्गअन्तर्गत पर्ने (बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधेंरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती) १० किलोमिटर कालोपत्र गरिनेछ ।

विश्व बैंकको अनुदान सहयोगमा व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए।

मूल्य अभिवृद्धि कर (भ्याट)सहित ४० करोड ८० लाख रुपैयाँमा उक्त निर्माण कम्पनीले ठेक्का पाएको छ । विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ । उक्त योजनाबाट बाँकी रहेको करिब २२ करोड रुपैयाँ रकम अर्को प्राथमिकताको योजनामा लगानी गर्न सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने कार्यपालिका बैठकले निर्णय गरेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको हो । उनका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकन पश्चात् उक्त आयोजना छनोट गरेको हो ।

छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेण्डर प्रक्रियाअघि बढाएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T