Skip to content

तापक्रम घट्योः अब आउने वर्षाले आगलागी घटाउन सघाउने

nabil bank

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केही दिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पूर्वको कोसीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र भोलि र पर्सी (मङ्गलबार) अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ ।

विभागमा मौसमविद् सरोज पुडासैनीले मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको जानकारी दिँदै अब बढ्दो आगलागीलाई प्रभाव पार्ने गरी ठाउँठाउँमा वर्षा हुने राससलाई जानकारी दिए।

उनले हिजोदेखि नै तराईका जिल्लामा ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको जानकारी पनि दिए । यो क्रमशः घट्दै जाने उनले बताए । हिजो काठमाडौँमा २९.५ डिग्री तापक्रम थियो । हिजो सबैभन्दा धेरै धनगढीमा ३९.३ र भैरहवामा ३८ डिग्री थियो । वर्षाको सम्भावना रहेकाले तल्काल तापक्रम नबढ्ने उनले बताए ।

केहीदिनअघि यसपाली तापक्रम सबैभन्दा बढी भैरहवामा ४३.६ डिग्रीसम्म पुगेको थियो । पुडासैनीका अनुसार आज कोसीका केही स्थानमा र भोलि कोसी र गण्डकीका थोरै क्षेत्रमा पानी पर्ने र बाँकी पहाडी भूभागका केही क्षेत्रमा हल्लादेखि मध्यम वर्षाको सम्भावना छ ।

पर्सी भने कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए। अब पर्ने पानीले कतिपय ठाउँमा भइरहेको आगलागी घटाउन सहयोग पुग्ने महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद् पुडासैनीले बताए । उनका अनुसार सोही मौसमी प्रणालीका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

आगामी २४ घण्टाको अवस्था

कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले वर्षा नहुँदा अत्यधिक गर्मीका कारण देशभर आगलागीका घटना बढिरहेको छ । ठाउँठाउँमा जनधनको ठूलो क्षति भएको छ भने वनजङ्गल डढेर सखाप भएको छ । वनबाट बस्तीका आगो सल्किँदा कतिपय जिल्लाका बस्ती नै जलेका छन् । दैनिक सयौँ स्थानमा आगलागी भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi