Skip to content

बौराहामा पुल बनेपछि खुसी छन् स्थानीय

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ चितालपुरस्थित बौराहा नदीमा पुल बनेपछि स्थानीय खुसी भएका छन् ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको रु सात करोड १९ लाख २९ हजार आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालय कैलालीमार्फत पक्की पुल निर्माणपछि स्थानीय खुसी भएका हुन् ।

वडा नं २ का अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले वर्षौसम्म जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय पुल बनेपछि आवतजावतमा सहज भएको बताए। उनले भने, ‘यहाँ पुल नहुँदा स्थानीयलाई दैनिक कामकारवाहीमा समस्या हुनुका साथै यहाँका विद्यार्थीलाई वर्षायाममा विद्यालय आवतजावतमा निकै समस्या हुने गरेको थियो । वर्षौंदेखि भोग्दै आएको समस्या समाधान भएपछि हामी सबैलाई सहज भएको छ।’”

पूर्वाधार विकास कार्यालय कैलालीका सूचना अधिकारी विनोद खड्काले चितालपुरदेखि सोही वडाको जोकाहासम्म जोड्ने गरी २५ मिटर लामो पुल निर्माण भएको बताए। यस्तै, सोही पालिकाको वडा नं ८ तारानगरस्थित बौराहा नदीमा निर्माणाधिन अर्को पुलको काम पनि अन्तिम चरणमा रहेको सूचना अधिकारी खड्काले जानकारी दिए।

७ करोड ६४ लाख ५० हजार रुपैयाँ लागतमा निर्माणाधीन सो पुलको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । विसं २०८० फागुन २९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्धारित समयमा कामसम्पन्न नहुँदा आगामी असार मसान्तसम्म म्याद थप गरिएको छ । थपिएको समयभित्रै पुल निर्माण गर्नेगरी हाल निरन्तर काम भइरहेको पनि खड्काले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T