Skip to content

सरकारको नीति तथा कार्यक्रममा समेटिएका गण्डकी प्रदेशका यी हुन् योजना

गण्डकी । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशमा पर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि गोरखकाली रबर उद्योग सञ्चालन गरिनेसम्मका योजना समेटिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान सुरु गर्न प्रोत्साहन प्याकेजको व्यवस्था गरिने उल्लेख छ । हाल आन्तरिक उडान मात्र भइरहेको सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पर्यटकीय राजधानी पोखरामा अर्बौं लगानीमा बनेको उक्त विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने माग उठ्दै आएको छ ।

सरकारले वर्षौंदेखि बन्द अवस्थामा रहेको गोरखाकाली रबर उद्योगलाई निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने योजना अगाडि सारेको छ । उद्योगको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गोरखाको मजुवा देउरालीमा रहेको सो उद्योग विसं २०७२ देखि पूर्ण रुपमा बन्द छ । विसं २०४९ देखि उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एकमात्र टायर उद्योग हो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पनि बन्द अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आउने गरेपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइ नसकेको जनाइएको छ । गोरखा नगरपालिका–१३ मजुवा देउरालीको छ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै १० अर्ब बराबरको सम्पत्ति रहेको जनाइएको छ । उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भएपनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन् ।

यस्तै आगामी आवदेखि बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफ्नै लगानीमा बनाउने घोषणा यसअघि नै गरेको थियो । गोरखा र धादिङको सीमानामा पर्ने बुढीगण्डकी नदीमा बन्ने एक हजार दुई सय मेगावाटको उक्त आयोजना वर्षौंदेखि अन्यौलमा रहँदै आएको थियो ।

गोरखामै एग्रो इण्डस्ट्रियल पार्क बनाइने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त सङ्कायको स्नातक तहको कक्षा सुरु गरिने भएको छ । गण्डकीका अधिकांश जिल्ला समेट्ने मध्यपहाडी लोकमार्गलाई समृद्धि कोरिडोरका रुपमा विकास गर्न विद्युत्, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकास गरी उत्पादकत्व, उद्यमशीलता र रोजगारी सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

रणनीतिक महत्वको सालझण्डी–ढोरपाटन सडक र पोखरा–मुग्लिन सडक निर्माण र स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । कालीगण्डकी करिडोरलाई बाह्रैमास यातायात सञ्चालन हुने गरी निर्माणलाई तीव्रता दिइने भएको छ । प्रदेश राजधानी पोखरामा रहेका सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच सय शय्यामा स्तरोन्नति गरी विस्तार गरिने भएको छ ।

गण्डकी प्रदेशलगायत देशका उच्च हिमाली भेगका हिमश्रृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रुपमा सम्बोधन गर्न ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हिमाली क्षेत्रमा भेडाबाख्रा, च्याङ्ग्रा, चौंरीलगायत पशुपालन एवं स्याउ, ओखरजस्ता फलफूल र जडीबुटीका ठूला फार्म सञ्चालन गर्न ‘हिमाल समृद्ध कार्यक्रम’ सञ्चालन गरिने जनाइएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य श्रष्टाहरुको प्रतिमा र सप्तधामसहितको ‘भानु साहित्य उद्यान’ निर्माणलाई अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal