Skip to content

जलवायु परिवर्तनको संकट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनले सिर्जना गरेको संकटबाट बच्न तथा खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएकी छन् ।

सञ्चारिका समूह नेपालले आज आयोजना गरेको विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भ पारेर ‘विश्वका लागि प्रेस र वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ विषयक अन्तरक्रियामा उनले जलवायु परिवर्तनले सिर्जना गरेका संकटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएकी हुन् ।

उनले भनिन्, ‘विपद्पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषणलगायतमा सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने बेला आएको छ । जोखिमको ज्ञान र जोखिमको अनुगमन तथा तथ्याङ्क विश्लेषण, जोखिमको सूचना प्रवाह, क्षमता अभिवृद्धि र प्रतिकार्यमा केन्द्रित भएर आमनागरिकलाई सचेत बनाउने कार्यमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।’

उनले अझै विपद् जोखिमका पूर्वसूचना र जोखिम विश्लेषण गुणात्मकरुपमा बढाउँदै हिन्दुकुश हिमालय क्षेत्रमा हुने घटनालाई विश्वव्यापी बनाउने सवाललाई सञ्चारमाध्यमले पनि महत्वपूर्ण एजेण्डा बनाउनुपर्ने बताइन्। उनले जलवायु परिवर्तनले सिर्जना गर्ने लैङ्गिक विभेदको सवालमा पनि सञ्चार क्षेत्र गम्भीर बन्न आवश्यक रहेको बताउँदै विभेदमा परेका समुदायलाई सरकारले सम्बोधन गर्ने नीति लिएको बताइन् ।

उनले भनिन्, ‘जलवायु परिवर्तन ठूलो चुनौतीका रुपमा देखा परेको छ । यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ । नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो । जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपद्का घटना बर्सेनि बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ ।’

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले जलवायु परिवर्तनले विश्वभर संकट सिर्जना भइरहेकोमा महिलाहरु बढी प्रभावित भइरहेको बताइन् । उनले आउने पुस्तालाई राम्रो प्रकृति अवस्था छोडेर जान सक्नुपर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले वातावरणीय प्रभावका विषय प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भने, ‘हाम्रो आफ्नो जीवनशैलीले पनि प्राकृतिक विपद् निम्तिएका छन् । वातावरणलाई जबसम्म मिडियाले विषयवस्तु ठान्दैन तबसम्म यसको सम्बोधन हुँदैन ।’

इन्टरनेसनल अलर्ट राष्ट्रिय निर्देशक रविना श्रेष्ठले वातावरणीय प्रभाव न्यूनीकरणमा सञ्चारमाध्यम पनि उल्लेखनीय भूमिका रहे बताए । उनले नेपाल जोखियमुक्त देश भएको र यसको न्यूनीकरणका लागि सबै पक्षबाट लाग्नुपर्नेसँगै आममानसमा जनचेतना बढाउन आवश्यक रहेको बताए ।

यस वर्ष नेपालसहित विश्वभरि नै ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा मनाइएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal