Skip to content

महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल

काठमाडौं । महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सनराइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको बताएको छ ।

यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ । यस पहलअन्तर्गत आगामी सात वर्षमा कुल ३५ लाख रुपैयाँ रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेसन ट्रस्टसँग समझदारी गरेको छ । सो रकमले देशभरिका समता स्कुलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरूले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्ने छन् ।

उक्त बैंकले आगामी ५ वर्षसम्ममा १ करोड रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोषमार्फत सोही विश्वविद्यालयबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयहरूमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरूले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाको संख्या बर्सेनि बढाउँदै लगिने बैंकले जनाएको छ ।

यस छात्रवृत्तिमार्फत २०२४ ब्याचका इरादा सुवेदी र सुनेना न्याछ्योँ हाल अध्ययनरत छन् । यसअघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयहरूमा अध्ययनरत योग्य छात्राहरूलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसबाहेक बैंकले छात्राहरूलाई अन्य क्षेत्रहरूमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ ।

यी प्रयासहरूले लक्ष्मी सन्‌राईज बैंकको ’शिक्षित लक्ष्मी’मार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई झल्काउँछ । लैङ्गिक समानतालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रहरूमा महिलाहरूको उत्थानमा टेवा पुर्‍याउने सो पहल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अंग रहेको बैंकले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal