Skip to content

नेपालले लगायो मसला ‘एमडीएच’ र ‘एभरेस्ट’ को आयात र बिक्रीमा रोक

 

काठमाडौं । नेपाल सरकारले भारतको प्रसिद्ध दुई ब्राण्डको मसलाको आयात, बिक्री बितरण तथा उपभोगमा प्रतिवन्ध लगाएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको एमडीएच र एभरेष्ट ब्राण्डको मसलाको आयात, बिक्री बितरण तथा उपभोगमा प्रतिवन्ध लगाएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उल्लिखित ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन दिइसकेको छ । साथै विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई ‘एथलिन अक्साइड’ परीक्षणलाई उच्च प्राथमिकतामा राख्नसमेत निर्देशन दिएको छ । ‘एथलिन अक्साइड’ मानिसमा क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ हो । यसलाई इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर(आईएआरसी) ले कार्सिनोजेनिक रसायनको समूह १ मा राखेको छ । यसले स्तन क्यान्सरलगायत विभिन्न क्यान्सर हुन सक्ने आईएआरसीको भनाइ छ ।

सो विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो । एमडीएचका उक्त मसलाहरू १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ रहेको छ । विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ ।

विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले पछिल्लो निर्णयबारे जानकारी दिँदै भनिन्, ‘सम्बन्धित कार्यालय केही भारतका ब्रान्डका मसलाको आयातमा रोक लगाइएको पत्राचार गरिएको छ ।’ सिंगापुर र हङकङले भारतीय मसलाको आयातमा रोक लगाएपछि यसको गुणस्तर र खाद्य सुरक्षामा विश्वका विभिन्न मुलुकले प्रश्न उठाएका छन् । मसला उत्पादन र निर्यातका हिसाबले भारत विश्वकै अग्रणी मुलुकमध्ये एक हो । भारतले झन्डै ४ बिलियन डलरबराबरको मसला बर्सेनि निर्यात गर्छ जुन विश्व मसला निर्यातको १२ प्रतिशत हो । नेपालले समेत भारतबाट ठूलो परिमाणमा मसला आयात गर्छ । यो आर्थिक वर्षको ९ महिनामा मात्र नेपालले भारतबाट झन्डै ८ अर्ब रुपैयाँबराबरको विभिन्न मसला आयात गरेको छ । नेपालले प्रत्येक वर्ष भारतबाट खुर्सानी र मरिचमात्र झन्डै २ अर्ब रुपैयाँबराबरको आयात गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडीए) ले समेत भारतीय एमडीएच र एभरेस्ट मसलाका बारेमा अध्ययन गरिरहेको जनाएको छ । हामीले यसबारेमा थप सूचना संकलन गरिरहेका छौं । त्यस्तै न्युजिल्यान्ड र अस्ट्रेलियाले पनि यसबारेमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाएका छन् ।

पछिल्लो ४ वर्षमा युरोपेली युनियनले ५२७ भारतीय उत्पादनका क्यान्सरजन्य रसायन भेटिएको जनाएको छ ।

 

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal