Skip to content

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकमा वृद्धि, १० महिनामा २ लाख ७३ हजार

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २ लाख ७२ हजार नौ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार १० महिनामा १ लाख ६१ हजार आठ सय २७ नेपालीले भ्रमण गरेका छन् । जसमध्ये सार्क मुलुकका २६ हजार चार सय ६१ र तेस्रो मुलुकका ८४ हजार छ सय ५४ जना छन् ।

गत आवमा दुई लाख ९९ हजार चार सय १२ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका तिवारीले बताउनुभयो । जसमध्ये तेस्रो देशका ५५ हजार आठ सय ७२ र सार्कका ३७ हजार नौ सय ३५ थिए । नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो ।

‘कोभिडपछि विदेशी पर्यटकको आगमनमा कमी आएको थियो । क्रमशः विदेशीको सङ्ख्या बढ्दै गएको छ । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चितवन राष्ट्रिय निकुञ्जलाई लिने गरिन्छ’, सूचना अधिकारी तिवारीले भने, ‘विदेशी पर्यटक सफारी पर्यटनका लागि यहाँ आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु, चराचुरुङ्गी, जलचर अवलोकनका लागि पर्यटक यहाँ आउने गर्दछन् ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । निकुञ्जका केही प्रवेशद्वार महानगरतर्फ पनि छन् । महानगरले स्वदेश तथा विदेशमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal