Skip to content

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन

बाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा  २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सो अवधिको तुलनामा करिब चार दशमलव ५२ प्रतिशत कम राजस्व सङ्कलन हो ।
उपमहानगरपालिकाले चालु आवमा  ३० करोड ९४ लाख पाँच हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० रुपैयाँ राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए ।
उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करबाट  पाँच करोड ९४ लाख २० हजार, घरबहाल करबाट  चार करोड ६६ लाख ८७ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट चार करोड ५९ लाख ८६ हजार रुपैयाँ, बहाल बिटोरी करबाट  दुई करोड पाँच लाख ४७ हजार रुपैयाँ,  सिफारिस दस्तुरबाट दुई करोड ८६ लाख ३१ हजार रुपैयाँ, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक करोड ९४ लाख २४ हजार रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट एक करोड ९६ लाख रुपैयाँ, ढुङ्गा, गिट्टी, बालुवा बिक्रीबाट १ करोड ८० लाख रुपैयाँ, नक्सा पास दस्तुरबाट ७८ लाख ६२ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवानाबापत ५१ लाख ३२ हजार दुई सय ५५ रुपैयाँ राजस्व सङ्कलन भएको श्रेष्ठले बताए ।
गत आव २०७९/८० को १० महिनाको तुलनामा यो करिब २ करोड ८२ लाख २५ रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो । उपमहानगरपालिकाले गत आव २०७९/८० मा ३४ करोड ९३ लाख पाँच हजार दुई सय रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा साउनदेखि वैशाखसम्म विभिन्न शीर्षकमा २२ करोड ५३ लाख छ हजार आठ सय ९४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क उपमहानगरपालिकाले उठाउँदै आएकामा गत आव २०७९/८० बाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहका सरकारमा राजस्व सङ्कलन हुन थालेको छ । चालु आवमा घरजग्गा कारोबारमा कमी आउनु, ढुङ्गा, गिट्टी, बालुवा निकासी ठेक्का लगाउन नसक्नु, सिमेन्ट निकासीको ठेक्का लाग्न नसक्नु, सडक पूर्वाधार मर्मतसम्भारको ठेक्का लाग्न नसक्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको श्रेष्ठको भनाइ छ ।
sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal