Skip to content

ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी

तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की रितु थापामगर घरधन्दा सकेर ढाका बुन्नुहुन्छ । चार वर्ष अगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उनीे व्यवसायमा लागेकी हुन् ।

“तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ । फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ’, उनले भनिन्, ‘त्यसपछि निरन्तर यही पेसामा छु ।’ फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उनको भनाइ छ ।

व्यवसाय थालेपछि अरुसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ । उनले भनिन् ‘पैसा चाहिँदा अरुसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो । घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरुलाई पनि उद्यम गर्न आग्रह गर्छु ।’

ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौँबाट ल्याउने गरेको उनले बताइन् । धागो ल्याएर मागअनुसार ढाका बुन्ने गर्नुभएका उहाँले अहिले सारीको माग धेरै भएको जानकारी दिइन् । उनका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्तासुरुवाल बनाउन सकिन्छ ।

थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी रु तीन हजारसम्म खर्च हुने गरेको छ । ८ हजारदेखि १२ हजार रुपैयाँसम्ममा सारी बिक्री हुन्छ । एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्नेगर्छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताइन् । हरेक व्यक्ति उद्यमी बन्न सकेमात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उनको भनाइ छ ।

यता दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आउनुभएका विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बनेकी छन् । व्यास नगरपालिका–२ मा विसं २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनी सफल उद्यमी बनेकी हुन् । ढाकाबाट पहिले टोपी र चोलीमात्र बन्ने गरेपनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उनको भनाइ छ । ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरासुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताइन् ।

उनको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँमात्र सीमित छैनन् । जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँलगायतका ठाउँबाट माग हुने गरेको छ ।

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले पनि ढाकाको कपडा किन्ने गरेका छन् । ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उनले बताइन् ।

जिल्लामा ढाका बुनाइतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुईमहिने निःशुल्क ‘एड्भान्स’ ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ । युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वार्षिक कार्यक्रमबमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिइन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal