Skip to content

सामूहिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै आमासमूह

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ ले महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउन सामूहिक तरकारीखेतीमा जोड दिएको छ । वडामा रहेका महिलाको विभिन्न छ वटा समूह बनाएर वडाले तरकारीखेती उत्पादनमा जोड दिएको हो ।

हाल वडामा निर्माण गरिएका छ आमासमूहमध्ये तीन समूहले व्यावसायिकरुपमा तरकारी उत्पादन गरिरहेका वडाध्यक्ष शशिराम विकले जानकारी दिइन्। उनका अनुसार तीन आमासमूहले वडा नं ८ कै सेरामा छ रोपनी जग्गा भाडामा लिएर तरकारी उत्पादन गरिरहेका छन् ।

सेरामा अहिले प्याज, आलु उत्पादन गरेर बिक्री भइसकेको छ भने नर्सरीमा खुर्सानी, गोलभेडा, भिन्डी, फर्सीको बिरुवा उत्पादन भइरहेका छन् । यसपटक भाडाको जग्गामा समूहले ३० क्विन्टल प्याज र ३५ क्विन्टल आलु उत्पादन गरेको वडाध्यक्ष विकले जानकारी दिइन्।

उत्पादन भएको आलु र प्याज स्थानीय बजारमै बिक्री गरिएको छ । आलु र प्याज बिक्रीबाट करिब ४ लाख रुपैयाँ बराबर आम्दानी भएको छ । आमासमूहलाई वडामा रहेका युवाले पनि सहयोग गर्दै आएका छन् । कृषकलाई कुनै समस्या नहोस् भनेर वडाले एक जना कृषि प्राविधिकको पनि व्यवस्था गरेको वडाध्यक्ष विकले जानकारी दिइन् । उनका अनुसार समूहले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्रीवितरणका लािग वडा कार्यालयले सहजीकरण गर्दै आएको छ ।

वडामा रहेका अन्य तीन आमासमूहलाई पनि वडाले तरकारी उत्पादनमा लगाउने योजना बनाएको छ । आमासमूहलाई आत्मनिर्भर बनाउन तथा कृषि पेसामा आकर्षण गर्न मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले छ वटै समूहलाई ६८ हजार रुपैयाँका दरले जम्मा ४ लाख आठ हजार रुपैयाँ सहयोग गरेको थियो ।

मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) को सहयोग तथा वडा कार्यालयको समन्वयले गर्दा तरकारी उत्पादनमा हौसला मिलेको आमासमूहमा आबद्ध कृषक कमला केसीले बताइन् । उनका अनुसार उत्पादन भएका कृषिजन्य वस्तु बजारीकरणमा कुनै समस्या छैन । तरकारी उत्पादनका लागि बीउबिजन, औषधिलगायत प्राविधिक ज्ञानका लािग वडा कार्यालयले सहयोग गर्दै आएको केसीले जानकारी दिइन् ।

सामूहिक तरकारीखेती गर्दा काम गर्न सजिलो हुनुका साथै उत्पादन पनि धेरै गर्न सकिने कृषक कर्णबहादुर पुनले बताए ।

महिला तथा यहाँका कृषकलाई आत्मनिर्भर बनाउन तरकारी उत्पादनलाई वडाले पहिलो प्राथमिकता राखेको जनाएको छ । एकल तथा सामूहिक तरकारीखेती गर्ने किसानलाई बीउ, आवश्यकपर्ने औषधिलगायत अन्य सामग्री निःशुल्क उपलब्ध गराइरहेको वडाध्यक्ष विकले जानकारी दिइन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal