Skip to content

कर्णाली प्रदेशकै मेरुदण्ड बन्न सक्छ दैलेखको पेट्रोलियम पदार्थ उखनन

 

काठमाडौं । देशका सातवटा प्रदेशमध्य हरेक क्षेत्रमा पछि परेको प्रदेश हो कर्णाली । यो प्रदेशमा अहिलेसम्म कुनै पनि ठूला उद्योगसमेत स्थापना भएका छैनन् । मझौला तथा घरेलु उद्योग नै यहाँको उद्योग हुन । कर्णाली प्रदेशका अधिकांश जिल्लामा साना तथा घरेलु उद्योगहरु दर्ता हुने र सञ्चालन भइरहेका छन् । तर, प्रदेश भरमा ठूलो उद्योग नै छैनन् । यस्तो अवस्थामा दैलेखको दुल्ल नगरपालिका र भरैवी गाउँपालिकामा उत्खननको कार्य भइरहेको पेट्रोलियम पदार्थले यो प्रदेशको विकासमा मेरुदण्डकै काम गर्न सक्ने सम्भावना रहेको छ ।

यो आयोजनाको अहिले ड्रिलिङको काम धमाधम भइरहेको छ । देशकै गौरवको आयोजनाका रूपमा हेरिएको यो आयोजनाबाट दैलेखका स्थानीयले मात्रैभन्दा पनि आमरूपमा सैले गर्व गर्न सक्ने अवस्था देखिएको छ । अहिले भइरहेको ड्रिलिङको कार्यले त्यहाँ रहेको इन्धनको परिमाण र लागत अनुमान गर्न सहयोग पुग्ने छ । त्यसपछि सरकारले त्यहाँको पेट्रोलियम पदार्थको उत्खनन गर्न सक्ने छ । यदि त्यहाँबाट पेट्रोलियम पदार्थ निकाल्न सकियो भने अहिले विदेशको भर पर्नु पर्ने बाध्यता हट्ने छ । त्यसका लागि पनि यो कार्य निकै महत्वपूर्ण रहेको छ । जिल्ला, प्रदेश र समग्र देशका लागि ।

कर्णाली प्रदेश विकास लगायत अधिकांश सूचकहरुमा निकै पछाडि परेको छ । संघीयता कार्यान्वयन भएको ७ वर्ष वित्ति सक्दा पनि कर्णाली प्रदेशमा अहिलेसम्म एउटा पनि ठूलो राष्ट्रिय स्तरको उद्योग छैन । साना तथा घरेलु उद्योगहरु नै यहाँको मुख्य व्यवसाय हो । संघीयता आएपछि कर्णालीमा चारवटा मुख्यमन्त्री बनि सके । तर, त्यहाँका जनताले संघीयताको खासै महसुश गर्न सकेका छैनन् ।

अहिले देशकै पेट्रोलियन पदार्थको आवश्यकतालाई पूर्ति गर्ने र आर्थिक रुपमा देशलाई नै सफल बनाउने योजनाका रुपमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । कर्णालीको मात्रै होइन देशकै विकासका लागि कोसेढंगा सावित हुन दाबी गरिँदै आएको दैलेख जिल्लाको रहेको पेट्रोलियम पदार्थको उखननअन्तर्गत ‘ड्रिलिङ’ को काम अहिले जारी रहेको छ । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले ड्रिलिङ गर्ने कामको शिल्यान्यास गरे ।

पेट्रोलियम पदार्थ अन्वेषणका तीन चरणमध्ये ड्रिलिङको काम अन्तिम चरणको हो । यो प्रक्रियाबाट त्यहाँको जमिनमा ग्यास र पेट्रोलियम पदार्थ छ वा छैन छ भने त्यसको परिणाम पता लाग्ने छ । यो प्रक्रिया पूरा गरेपछि पेट्रोलियम पदार्थको मात्रा टुंगो लागेपछि मात्रै जमिनमा रहेको पेट्रोलियम पदार्थ निकालिने छ । दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ को जलजलेमा जग्गा अधिग्रहण गरेर काम भइरहेको छ । ड्रिलिङको शुभारम्भ गर्दै मन्त्री भण्डारीले यो योजना नेपालको अर्थतन्त्र सुधारको मेरुदण्ड रहेको बताएका थिए । ‘यो योजना कर्णालीको मात्रै होइन नेपाल कै अर्थतन्त्रको मेरुदण्ड हो । विश्वव्यापी इन्धन संकटले नेपालमा पर्नसक्ने असरलाई पनि यसले कम गर्छ,’ उनले भने, ‘यति महत्वको यो परियोजना सफल बनाउन कुनै पनि कसर बाँकी राख्नु हुँदैन ।’ उनले यो परियोजना सफल बनाउनका लागि सरकार र मन्त्रालयको तर्फबाट गर्नु पर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।

यो अयोजना सम्पन्न भएको खण्डमा इन्धनमा नेपालको पर निर्भरतासमेत कम हुने विश्वास गरिएको छ । २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका समयमा नेपालमा पेट्रोलियम पदार्थको निकै समस्या भएको थियो । त्यसपछि नेपालमा पेट्रोलियम पदार्थको खोजीलाई तीव्रता दिइएको थियो । त्यसै क्रममा बर्षौ देखि बलिरहेको ज्वाला बल्नुको कारण खोजी गरियो । त्यस क्रममा त्यहाँ पेट्रोलियम पदार्थ रहेको पत्ता लागेको थियो । चाइनिज कम्पनीले गरेको अनुसन्धानबाट सो कुरा पत्ता लागेको थियो । त्यसपछि काम निरन्तर रुपमा यसको अध्ययन र खोजी कार्यलाई निरन्र्ता दिदै अहिले ड्रलिङको काममा पुगेको छ ।

ड्रिलिङको काम अबको चार महिनामा सम्पन्न हुने गरि काम भइरहेको परियोजनाका प्रमुख दिनेश कुमार नापितले बताए । यो ड्रिलिङबाट चार हजार मिटर गइराइसम्म ड्रिलिङ गरिने प्रमुख नापितले बताए । अहिले काम गर्नका लागि अवश्यक पर्ने सामग्रीहरु आइसकेको र अन्य केही सामानहरु आउने क्रममा रहेको उनको भनाइ छ ।

सडक साँघुरो भएका कारण उपकरणहरु समयमा आयोजना स्थलमा आउन नसकेको र बीचमा कोरोनाले पनि केही समय काम लम्बिएको उनले बताए । साना ट्रक ल्याउनका लागि समस्या नभए पनि ठूला ट्रकहरु आयोजना स्थलसम्म ल्याउनका लागि समस्या भइरहेको उनको भनाइ छ । ‘साना ट्रकहरु आउनका लागि समस्या छैन । तर, ठूला ट्रकहरु आउन लागि भने सडक निकै साँघुरा छन,’ उनले भने ।

वि.स २०७६ असारबाट सुरु भएको कामले अन्तिम रुप लिएसँगै त्यहाँका स्थानीहरुमा पनि खुसी छाएको छ । जिल्लाको मात्रै नभएर देशकै आर्थिक विकासका लागि यसले उल्लेख्य सहयोग पुग्ने स्थानीहरु बताउँछन् । नेपालको गौरवको आयोजना भएकाले यो आयोजना सफल हुनु पर्ने भैरवी गाउँपालिका वडा नम्बर १ का स्थानीय समेत रहेका वडा अध्यक्ष डम्बरबहादुर कार्कीले बताए । ‘यो आयोजना सफल भएमा हामीहरु पनि गौरव गर्न सक्ने अवस्था हुन्छ । यहाँका स्थानीले मन अमिलो बनाएर आफ्नो जमिन छोड्नु परेको छ । इन्धन निस्केको खण्डमा सबै खुसी हुने थिए,’ उनले भने । भैरवीको मात्रै होइन दैलेख जिल्लाको मात्रै नभएर सबै नेपालीको गौरवको आयोजनाको सुरुवात भएकाले आफू निकै खुसी भएको उनले सुनाए ।

जग्गा गए पनि ठूलो परियोजना बन्ने भएकाले खुसी लागेको भैरवी गाउँपालिका वडा नम्बर १ का स्थानीय कृष्णबहादुर थापाले सुनाए । ‘मेरो आठ रोपानी जग्गा आयोजा क्षेत्रमा प¥यो । आफ्नै ठाउँमा आयोजना बन्ने भएकाले जग्गा गएको भन्दा पनि विकास हुने आशाले खुसी छु,’ उनले भने, ‘यो आयोजनामा सबै भन्दा बढी जग्गा मेरै परेको छ । तर, पनि आयोजना बनेर देशको विकास हुने आशाले गर्दा जग्गा छाडेको हुँ ।’

आयोजनाले गर्दा त्यहाँका स्थानीयले रोजगारी समेत पाएका छन् । योग्यताअनुसारको काम समेत स्थानीयलाई दिएको आयोजना प्रमुख नापितले बताए । योग्यता पुगेका जिल्ला बासिहरुलाई रोजगारी लगाइएको उनको उनले जानकारी दिए ।

फागनुसम्म थपियो समय

आयोजनाको समय फेरि पनि थप गरिएको छ । पछिल्लोपटक थपिएको समयम २०८० साल चैत १४ गते सकिएपछि पुनः एक वर्ष समय थप गरिएको हो । थपिएको समय अब २०८१ सालको फागुन १६ गते सकिने छ । २०७६ बाट सुरु भएको पेट्रोलियम पदार्थ अन्वेषणको काम कोराना तथा सडक समस्याले गर्दा समय थप गर्नु परेको आयोजना प्रमुख नापितको भनाइ छ । ‘हामीलाई काम गर्नका लागि कोरोना महामारी र कर्णालीको सडकका कारण केही सस्या भयो । अब त्यस्तो समस्या नआउला भन्ने विश्वास छ,’ उनले भने, ‘चार महिना लाग्ने भए पनि परिस्थितिले केही समय लाग्न सक्ने भएकाले नै लामो समय थप गरिएको हो ।’

यो परियोजनाको लागत सुरुमा सवा २ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । अहिले सोही अनुसार नै अन्वेषणको काम भइरहेको प्रमुख नापितले बताए ।

यसरी सुरु भएको थियो दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम नेपालको संविधान निमाण पछि भारतले लगाएको अघोषित नाकाबन्दी पछि नेपालमा पेट्रोलियम पदार्थको उत्खनन गर्नु पर्ने आवाज उठेको थियो । सोहीअनुसार नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको सम्भावना भएका क्षेत्रहरु खोज्न थालियो । त्यसै क्रममा दैलेख जिल्लाको दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा वर्षौँदेखि बलिरहेका ज्वालाका विषयमा पनि सरकारले अनुसन्धान ग¥यो ।

सुरुवाती अनुसन्धाबाट त्यहाँ ग्याँस भएको अनुमान गरिएको छ । तर, वास्तवमा त्यो क्षेत्रमा भएको चिज के हो भन्ने विषयमा अबको केही समय पछि जानकारी हुने छ । दैलेखको ज्वाला बलिरहेको क्षेत्रमा २०७२ मंसिरमा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहितको चिनियाँ टोली पुगेको थियो । नेपाल सरकारले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । सोही अनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भयो । सोही अनुसार काम अघि बढ्दै गएर अहिले ड्रिलिङको काम सुरु भएको हो ।

२०७६ असार १६ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्वेषणको औपचारिक उद्घान गरेको थियो । त्यसपछि दुई चरणको काम सम्पन्न गरेर अहिले अन्तिम चरणको काम सुरु भएको हो । यो काम सकिएपछि त्यहाँ रहेको पेट्रोलियम पदार्थको परिमाण थाहा हुने छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal