Skip to content

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै ५ सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ ।

रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आउनुभएको छ । बगरमा उत्पादित तरकारी बिक्री गरेर उहाँले घरखर्च जुटाउँदै आएका छन् । ‘दोदाले सबै जमिन लग्यो । अहिले बगरमा खेती गर्छु । सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ’, उनले भने, ‘आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ । सिजनमा २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।’ उनका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्छन् ।

दोदामा उर्लेर आउने बाढीले कैयौं बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् । डाँगाजाईका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिनुभएको छैन । त्यस बेला बाढीले उनको करिब तीन बिघा जमिन बगायो । दोदाको कटान अझै रोकिएको छैन । प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ । मोलसिंह भने, ‘बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ ।’

डाँगाजाईका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्यो । विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनले बताए । ‘बर्खामा दोदाको बाढीले सास्ती गर्छ । उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ’, उनले भने, ‘बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन । उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ ।’

दोदा नदीमा करिब ५ सयभन्दा बढी परिवारले बगरखेती गरेका छन् । बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ । माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ । चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताए । ‘वर्षौंदेखि बगरमा खेती गर्दै आएका छौँ । माघदेखि जेठसम्म बगरमा खेती गर्छौं, अरु समयमा मजदुरी”, उनले भने, ‘जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौं ।’

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal