Skip to content

तल्लुबगर र गोतामकोट जोड्न भेरीमा बेलिब्रिज

nabil bank

रुकुमपश्चिम । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगर र रुकुमपश्चिमको आठबिसकोट–४ छरेबगर, गोतामकोट जोड्ने भेरी नदीमाथिको बेलिब्रिज उद्घाटन भएको छ । केही दिनअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको बेलिब्रिज पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले औपचारिक उद्घाटन गरेका छन्।

सांसद शर्माले तीन देश (भारत, नेपाल र चीन)को लाइफलाइनका रूपमा रहेको भेरी करिडोरमा निर्माण भएको यो पुलले यहाँको यातायात सेवालाई थप सहज र भरपर्दो बनाएको बताए । उनले भेरी करिडोरमा निर्माणाधीन अन्य पुलको निर्माणसमेत समयमा सकिनुपर्ने बताउँदै सबै पुल निर्माण भएमा जाजरकोट, रुकुमपश्चिम र डोल्पाको यातायात सेवा थप प्रभावकारी हुनुका साथै तीन देशलाई जोड्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

गत वर्षको वैशाख ७ गते निर्माण अन्तिम चरणमा पुगेका बेला बेलिब्रिज भाँचिएको थियो । लापरवाहीपूर्ण तरिकाले पुलमा क्रेन चढाउँदा पुल भाँचिदा पुल निर्माण गरिरहेका भारतको बहराइचका दुईजना कामदारको मृत्यु भएको थियो भने सातजना कामदार घाइते भएका थिए ।

त्यसपछि पुल निर्माण अलपत्र परेको थियो । तर यति विल्डर्स निर्माण कम्पनीले पुल निर्माणमा लगानी गरेपछि निर्माण सम्पन्न भएको छ । पुल भाँचिएपछि निर्माण सम्पन्न गर्न ६५ लाख रुपैयाँ खर्च भएको यती विल्डर्सका अध्यक्ष भीमराज केसीले बताए।

सुरुमा पुल निर्माणको जिम्मा विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले रु तीन करोड ८१ लाखमा लिएको थियो । यो बेलिब्रिजको गत शुक्रबार भेरी करिडोर कार्यालयको प्राविधिक टोलीले भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । त्यसपछि शनिबारबाट बेलिब्रिज सञ्चालनमा आएको थियो । यो बेलिब्रिजले २५ टन थेग्नसक्ने क्षमताको छ ।

भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्ला सिधा सडक सञ्जाल जोडिएको बताए । साथै भेरी करिडोरको यातायात सेवा थप सहज बनेको छ । यसबाट जाजरकोट, रुकुमपश्चिम र डोल्पाका हजारौँ नागरिक लाभान्वित भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi