Skip to content
Prabhu

उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यमः राष्ट्रपति

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउने बताएका छन् ।

किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले पर्वहरुले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बतएका हुन् ।

‘हाम्रा पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउँछ भन्ने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत भनेका छन्, ‘उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन् । जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वका रूपमा मनाइन्छ ।

वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस् भन्ने कामना गरेर तथा प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गरेर यो पर्व मनाउँछन् ।

साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal