Skip to content

सुनको मूल्य ६ वर्षमा ८३ हजार र २२ वर्षमा १ लाख ३२ हजारले महँगियो

 

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य आकासिने क्रम जारी रहेको छ । तथ्यांक हेर्दा सुनको मूल्यले ‘दिन दुई गुणा रात चौगुणा’ भन्ने उखानलाई यथार्थता दिइरहेको छ । पछिल्लो ६ वर्षमा नेपाली बजारमा सुनको मूल्य तोलामा ८३ हजार रुपैयाँले महँगो भएको छ । नेपाली बजारमा जेठ ७ गते सुनको मूल्यले अहिलेसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँको रेकर्ड कायम ग¥यो । जुन मूल्य आजभन्दा ६ वर्ष अर्थात् २०७५ साल वैशाख ४ गते ५८ हजार ८ सय रुपैयाँ रहेको थियो ।

त्योभन्दा पनि तीन वर्ष पहिले २०७२ साउनमा सुनको मूल्य ४८ हजार रुपैयाँमा कारोबार भएको थियो । यसरी हेर्दा नौ वर्षमा सुनको मूल्य ९३ हजार ८०० रुपैयाँले महँगो भइसकेको छ ।

सुनको मूल्य २२ वर्ष पहिले अर्थात् २०५९ साल वैशाख महिनामा नेपाली बजारमा पहेले धातुको मूल्य प्रतितोला ९ हजार ३०० सय रुपैयाँ थियो । त्यसयता २२ वर्षमा सुनको मूल्य १ लाख ३२ हजार ५०० रुपैयाँले बढेको छ । सुनको मूल्य कुनै दिन पनि सस्तो भन्ने अवस्था नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न साक्य बताउँछन् । ‘तोलामा ८ हजार रुपैयाँ हुँदा पनि सुनको मूल्य महँगो नै थियो । अहिले १ लाख ४० हजार पार गर्दा पनि महँगो नै छ,’ उनले भने । यो मूल्य अझै बढ्ने अध्यक्ष शाक्यको भनाइ छ ।

२०५९ सालमा जन्मेर अहिले २२ वर्ष पुगेको व्यक्तिका लागि त्यो समयमा सुनको मूल्य ९ हजार ३ सय थियोभन्दा एका देशकको कथा जस्तो लाग्न सक्छ । तर, यो यथार्थ हो । २२ वर्षको समयमा सुनको मूल्यमा १ लाख ३२ हजार भन्दा बढीले वृद्धि भयो । सुनको मूल्य वृद्धि भएजस्तै गरि आम नागरिकको आम्दानीमा वृद्धि नभएका कारणले सधै सुनको मूल्य महंगो लाग्ने गरेको अध्यक्ष शाक्यले बताए ।

‘सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुग्दा जुन अवस्था छ १० हजार रुपैयाँ पुग्दा पनि त्यहि अवस्था रहेको थियो । अझै यो मूल्यमा वृद्धि हुने र त्यो बेला पनि अवस्था यस्तै हुन्छ,’ उनले भने । सुनको मूल्य बढे पनि कारोबार ठप्पै हुने अवस्था भने भएको छैन । आवश्यक पर्ने व्यक्तिहरुले अहिले पनि सुन किनिरहेका छन् । आवश्यक नहुनेहरुले सस्तो हुँदा पनि नकिन्ने र आवश्यक हुनेले महँगो भएपनि किन्ने गरेको अध्यक्ष शाक्यले बताए । ‘आवश्यक नहुँदाको समयमा सुन १० हजार रुपैयाँ तोलामा पनि मानिसले किन्दैन । तर आवश्यक छ भने एक लाख ४० हजार भए पनि किन्छन । आवश्यक नभएको बेला सुनमा कसैको ध्यान नै जाँदैन’, उनले भने ।

सुनको मूल्य अहिले मात्रै महँगो भएको भने होइन । कुनै समय नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँ हुँदा पनि नेपालीका लागि त्यो निकै महँगो थियो । ‘सुनको मूल्यको अनुपातमा आम्दानी नबढेकाले सुनको मूल्य जहिले पनि महँगो लागेको हो । सुनको मूल्यजस्तै व्यक्तिको आम्दानी पनि बढ्ने हो भने यो महँगो लाग्दैन’, अध्यक्ष शाक्यले भने ।

नेपालीको सबैजसो संस्कारमा सुन आवश्यक हुने भएकाले आवश्यकताअनुसार मात्रै उपभोक्ताले सुन खरिद गर्नेगरेको शाक्यको भनाइ छ । ‘सुनचाँदीको मूल्य हामी नेपालीका लागि कहिले पनि सस्तो भएन । जहिले पनि महँगो नै भयो । आजभन्दा २२ वर्ष पहिले सुनको मूल्य तोलामा ९ हजार रुपैयाँ मात्रै थियो । त्यो समयमा पनि सुनको मूल्य महँगो नै थियो’, उनले भने ।

नेपालीहरुले ५० हजार रुपैयाँ हुँदा पनि सुनको किनमेल अहिलेको गतिमा भइरहेको अध्यक्ष शाक्यको भनाइ छ । एक लाख १० हजार हुँदा पनि उपभोक्ताले सुन किनेका नै थिए । अहिले १ लाख ४१ हजार ८ सय हुँदा पनि किनिरहेका नै छन् ।

सुनको मूल्य अहिलेभन्दा अझै बढ्नसक्ने अध्यक्ष शाक्यको भनाइ छ । सुनको मूल्य नेपालीभन्दा पनि अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले घट्ने सम्भावना कम रहेको उनले बताए । सन २०२४ को अन्तिमसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ३ हजार अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । त्यो भनेको नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँको हाराहारीमा पुग्नु हो । ‘सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस २ हजार ८ सय डलर पुगेको खण्डमा नेपालमा १ लाख ५० हजारको हाराहारीमा पुग्छ । यदि ३ हजार डलर पुगेमा नेपाली बजारमा सुनको मूल्य १ लाख ८० हजारसम्म पुग्छ’, अध्यक्ष शाक्यले भने ।

सुनको मूल्य घट्ने सम्भावना भए पनि अहिले देखिएको घटनाहरुले गर्दा सुनको मूल्य घट्नेभन्दा बढ्ने सम्भावना धेरै भएको उनको भनाइ छ । अहिले सिजन नभएकाले कारोबार कम रहेको उनले बताए । सिजनको समयमा अहिले पनि मानिसले आवश्यकताअनुसार सुन खरिद गरिरहेको उनको भनाइ छ ।

पछिल्लो समय लगातार रुपमा बढीरहेको सुनको मूल्य बिहीबार र शुक्रबार भने केही घटेको छ । २ दिनमा सुनको मूल्यमा ३ हजार ६०० रुपैयाँले घटेको छ । बिहीबार र शुक्रबार गरेर सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको छ । शुक्रबार सुन तोलामा १ लाख ३६ हजार ९ सयमा कारोबार भइरहेको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal