Skip to content

सफा हिमाल अभियानः थप दुई शव र ११ टन फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले आजसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार आजमात्रै दुई वटा शव निकालेर काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ ।

सगरमाथा हिमालको बाल्कोनी इलाका (८,४३० मिटर) र ल्होत्से क्याम्प–४ इलाका (७९०० मिटर) मा रहेको दुईवटा शवलाई आज हवाईमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाका लागि बुझाएको निर्देशनालयले जनाएको छ ।

गत चैत्त २९ गतेबाट सुरु भएको अभियानअन्तर्गत हालसम्म सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलोग्राम फोहर, चारवटा मानव शव तथा केही मानव अस्थिपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

विश्व वातावरण दिवसमा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरूमा थुप्रिएको फोहर हटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal