Skip to content

होटल संघ नेपालद्वारा चीनको बेइजिङ र छेन्दुमा भोलिदेखि नेपाल प्रवर्द्धन कार्यक्रम गर्ने

 

काठमाडौं । होटल संघ नेपालले चिनियाँ पर्यटक भित्र्याउने र नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बेइजिङ र छेन्दुमा भोलि शनिबारदेखि २५ गते शुक्रबारसम्म नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कोभिड संक्रमणपछि पहिलोपटक हुन लागेको यस कार्यक्रमको होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटलहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डल भोलि चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

कोभिडपछि चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएको क्रममा नेपाली प्रतिनिधिमण्डलले प्रतिष्ठित चिनियाँ ट्राभल तथा टूर अपरेटरहरुसँग गर्ने बीटूबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रमबाट चिनियाँ पर्यटक बढाउन प्रत्यक्ष योगदान पुग्ने होटल संघ नेपालको अपेक्षा छ ।

बेइजिङ र छेन्दुमा होटल संघ नेपाल र समकक्षी चाइना होटल संघ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न संघसंस्थाबीच तालिम, प्रशिक्षणका साथै दुईपक्षीय पर्यटन प्रवद्र्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ ।

उक्त कार्यक्रमको समन्वय बेइजिङस्थित नेपाली राजदूतावास तथा छेन्दुस्थित महावाणिज्यदूतको कार्यालय तथा नेपालको पर्यटनसम्बन्धी प्रस्तुतीकरण नेपाल पर्यटन बोर्डबाट हुने पनि होटल संघ नेपालका महासचिव तथा प्रवक्ता साजन शाक्यले बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T