काठमाडौं । नेपालका उद्योगहरुमा लोडसेडिङ यथावत् राख्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको छ । विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात गरेको समाचार सञ्चार माध्यमहरुमा प्रकाशित भएका छन् ।
सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत् निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं ।
हामीले विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत् आयात नै गरेन । जसको मारमा उद्योगहरु विगत तीन महिनाअघिदेखि पर्दै आएका छन् ।
अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ ।
स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघ आग्रह गर्दछ । साथै, उद्योगहरुलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघ जोडदार माग गर्दछ ।
प्रतिक्रिया दिनुहोस्