Skip to content

आजदेखि ललितपुरमा श्रमाधान रोजगार मेला सुरु

 

काठमाडौं । श्रमाधान रोजगार मेला मंगलबारदेखि ललितपुरमा सुरु भएको छ । देशका विभिन्न स्थानमा आयोजना हुँदै आएको श्रमाधान मेला ललितपुरको पाटन क्याम्पसमा सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला सुरुवात मात्रै भएको बताइन् । मेलाले रोजगारीको अवसर मात्रै हैन करिअर काउन्सिलको काम पनि गर्ने उनको भनाइ थियो । मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी पनि दिनेछ ।

‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि यो बर्ष देखि करिअर काउन्सिलबाट सुरु गर्दैछांै,’ उनले भनिन् । कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल गरिने शिक्षामन्त्री श्रेष्ठको भनाइ थियो । त्यस्तै मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरु सञ्चालन गर्न सकिने बताइन् । ‘अन्तर मन्त्रालयको समन्वयमा हामी मुलुक भित्रै रोजगारी सृजना तथा स्वरोजगार बन्न युवाहरुलाई प्रेरित गर्ने सक्छौं । सहकार्य लागि पनि हामीले छलफल चलाई रहेका छौं,’ मन्त्री श्रेष्ठले भनिन् ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्व पनि बुझाउने बताए । ‘मेलाको उपलब्धी आजको भोलि नै नदेखिन सक्छ । तर यसले दीर्घकालीन रुपमा सकरात्मक परिणाम देखाउने उनले बताए,’ उनले भने । उनले आगामी दिनमा यो मेलालाई अभियानको रुपमा नै लैजानुपर्ने बताए । त्यस्तै, मेलाले मुलुक भित्र केही हुन सक्दैन भनेर विदेशिनेको मनोविज्ञानलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । साथै मेलाले रोजगारदाताले श्रमिक पाएनौ भन्ने र श्रमिकले रोजगारी पाएनौ भन्ने गुनासोलाई सम्बोधन गर्नेछौ ।

त्यस्तै, मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मन्त्रालयले मेला आयोजनाका लागि ललितपुर नै छनौट गरेकोमा खुसी व्यक्त गरे । दैनिक १ हजार ५०० को हाराहारीमा वैदेशिक रोजगारीमा गै रहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भएपनि नेपाली युवालाई नेपाल भित्रै रोक्नका लागि सहयोग गर्ने उनको भनाइछ ।

जेठ १७ गतेदेखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बागमती प्रदेशको ललितपुरमा बुधबारसम्म सञ्चालन हुनेछ । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोेसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ गर्ने छन् । मेला बुधबारसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal