Skip to content
Prabhu

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय लगानीकर्तालार्ई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको भन्दै लगानीका लागि आग्रह गरेका हुन् ।

यही जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष ढकालले रोजगारदाताको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका थिए । नेपालका रोजगारताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भैरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

सामाजिक सुरक्षा, लैगिंक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागि रोजगारदाताहरुलाई नेपालमा लगानी बढाउन पनि आग्रह गरे । भारतसंग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बंगलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

यसैगरी भारत र चीन जस्ता धेरै जनसंख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिलस्टेसनहरुमा पर्यटकीय पुर्वाधार विस्तारको सम्भावना रहेको उनको भनाइ थियो । सूचना प्रविधि कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरु पनि नेपालको लाभका क्षेत्र रहेको उनले बताए ।

लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउन नीति अंगिकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागिलाई जानकारी दिए ।

सम्मेलनका क्रममा अध्यक्ष ढकालले अन्तराष्टिय श्रम संगठन (आइएलओ) र रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal