Skip to content

शीतगृह निर्माणले धरानका किसानलाई राहत, लागत ७६ लाख ८१ हजार

सुनसरी । कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा धरान उपमहानगरपालिका–१३ स्थित कृषिबजारमा निर्माण गरिएको शीतगृह (चिस्यान केन्द्र)ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य किसानले अहिले बिक्री नभएको कृषिजन्य उत्पादन भण्डारणका लागि शीतगृह पुर्याउने गरेका छन् । सङ्खुवासभाका किसान विष्णु राई शीतगृह निर्माण भएपछि किसानलाई राहत मिलेको बताए ।

उनले भने, ‘झण्डै एक दिनको बाटो धाएर धरानमा बिक्रीका लागि ल्याइन्छ तर कहिले बिक्री नभएर अब के गर्ने भन्ने तनाव हुन्छ, दुःख गरेर धरान ल्याइएका फलफूल र तरकारी बिक्री नभए सित्तैमा बाँडेर जानुपर्ने, कि त फालेर हिँड्नुपर्ने अवस्था थियो ।’ अहिले बिक्री नभएको तरकारी फलफूल सबै यहीँ राखेर जान पाइन्छ । दश÷बाह्र दिनपछि आएर फेरि बिक्री गर्न सकिन्छ उनले भने ।

धेरै फलफूल उत्पादन हुने ठाउँमध्ये धनकुटा पनि एक हो । धनकुटाका किसान विवेक राई शीतगृह निर्माणपछि किसानलाई राहत मिलेको बताए । फलफूल र तरकारीको सिजनअनुसार उत्पादनलाई बिक्री गर्नका लागि बर्सेन आफू धरान कृषि बजार आउने गरेको बताए । उनले भने, अहिले धेरै सजिलो भएको छ, जाडो मौसममा दुई÷तीन दिनसम्म बाहिर फलफूल राख्दा खासै बिग्रने हुँदैन, तर अहिले गर्मी समयमा एक दिन बाहिर राख्दा बिग्रने हुँदा शीतगृहमा राख्दा महँगो पनि खासै छैन फर्काएर लैजान नपर्ने हुँदा ठूलो सहयोग पुगेको छ’, उनले भने ।

उहाँहरू मात्र होइन, अहिले धरान–१३ स्थित शीतगृह निर्माणपछि पहाडी भेगका किसानलाई ठूलो राहत मिलेको छ । धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, खोटाङलगायतका ठाउँबाट कृषिउपज बजारमा बिक्री गर्न आउने किसानका लागि शीतगृह बरदान सावित भएको छ ।

कोशी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २०७६÷७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रमअन्तर्गत उपलब्ध गराएको ४९ लाख ८३ हजार तीन सय रुपैयाँ र कृषि बजार व्यवस्थापन समितिको २६ लाख ९७ हजार आठ सय ४० रुपैयाँ गरी कुल ७६ लाख ८१ हजार एक सय ४० रुपैयाँ लागतमा शीतगृह निर्माण भएको हो ।

शीतगृहमा कृषिउपज राख्न किसान र व्यापारीलाई सहज भएपछि २०७७÷७८ मा पनि कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको हो । त्यसमा कृषि बजार समितिले १७ रुपैयाँ लाख थप गरेर कुल ६७ लाख रुपैयाँ लागतमा अर्को शीतगृह थप गरिएको छ । अहिले शीतगृहका छवटा च्याम्बर छन् । एउटा च्याम्बरमा २५ टनदेखि ३० टनसम्म भण्डारण गर्न सकिन्छ । छवटा च्याम्बरमध्ये २५ टन क्षमताको एउटा च्याबर किसानका लागि आरक्षणका रूपमा छुट्याइएको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।

‘अरू च्याम्बरमा कृषक, व्यापारी सबैले राख्न पाउँछन् तर एउटा च्याम्बर कृषककै लागि छुट्याइएकाले अरूले राख्न पाउँदैनन्, यो कृषकलाई आरणक्षका रुपमा राखिएको हो’, उनले भने । शून्य डिग्री तापक्रम रहने शीतगृहमा अहिले आलुको बीउ, जुम्ली स्याउ, नौनी घ्यू र भारतबाट आएका सयपत्रीका फूल राखिएको छ । शीतगृहमा ड्रागन फ्रुट एक महिनासम्म, किबी तीन महिनासम्म, आलुको बीउ एक वर्षसम्म र हरियो तरकारी एक हप्ताभन्दा धेरै समयसम्म भण्डारण गर्न सकिने व्यवस्थापक लक्ष्मण भट्टराईले बताए।

यसरी भण्डार गर्दा किसानले प्रतिकेजी मासिक दुई रुपैयाँ ५० पैसा तिर्नुपर्छ । शीतगृहमा व्यापारीले पनि बाहिरबाट किनेर ल्याएका स्याउ, अङ्गुर, अनारजस्ता फलफूल राख्ने गर्छन् । कतिपय व्यापारीले च्याम्बर नै लिजमा लिने गरेका छन् । उनीहरुले ३० टन क्षमताको प्रतिच्याम्बर मासिक ३० हजार रुपैयाँ तिर्ने गरेका छन् । धरानस्थित कृषि उपज बजारमा दैनिक रूपमा करिब एक हजारभन्दा बढी किसान र दुई सयभन्दा बढीको हाराहारी व्यापारीबीच कारोबार हुने गरेको छ । यहाँ दैनिक दुई करोडको हाराहारीमा कारोबार हुने गर्छ । वार्षिक कारोबार पाँच÷छ अर्ब रुपैयाँभन्दा बढी हुने गरेको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal