Skip to content

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

nabil bank

म्याग्दी । जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ ।

परम्परागत बालीको संरक्षण–प्रबर्द्धन र बजारीकरण, कृषि उत्पादन वृद्धि गरी कृषि उपज आयात विस्थापन गर्न कृषि कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष जिल्लामा ५ करोड ९७ लाख ५२ हजारको कृषिका कार्यक्रम सञ्चालन भएकामा सबैभन्दा धेरै ३ करोड खायन प्रजातिको आलुखेतीमा खर्च भएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए । कार्यक्रमअन्तर्गत जौँ, कोदो, लट्टे र फापरको प्रबर्द्धन गर्न चारवटा कृषि समूहमार्फत १० लाख रुपैयाँ खर्चेर विविध कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

त्यसैगरी फलफूल बगैंचा स्थापना कार्यक्रममार्फत ३० लाख रुपैयाँ लगानीमा २० हेक्टर जमिनमा २६ जना किसान र समूह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको छ भने फलफूल बगैंचाको सुदृढीकरण गर्न विभिन्न २३ वटा कृषि फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन भएको छ ।

फलफूल नर्सरी स्थापना गर्न २० लाख रुपैयाँमा बेनी नगरपालिकाको भकिम्ली र धौलागिरि गाउँपालिकाका दुईवटा कृषि फार्मसँग ५० प्रतिशतको अनुदानमा कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी जिल्ला कृषि ज्ञान केन्द्रले कृषिजन्य उत्पादन बढाउन प्राङ्गारिक मल वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ । सुन्तलाको उत्पादन बढाउन १० लाख लागतमा ६३ मेट्रिक टन मल वितरणको गरिएको केन्द्रले जनाएको छ । यस वर्ष विनियोजित १५ लाख रुपैयाँको बजेटबाट मकैको उन्नत बीउ उत्पादन कार्यक्रम सञ्चालन भएको छ । यो कार्यक्रमअन्तर्गत बेनी नगरपालिकाको तोरीपानी र पात्लेखेतमा दुई सय रोपनीमा मकै लगाइएको छ । कृषिजन्य कार्यक्रममार्फत जिल्लाका किसानको जीवनस्तर सुधार्ने, खेतीयोग्य जमिनको प्रयोग बढाउने र उत्पादन वृद्धिमा ज्ञान केन्द्रले जोड दिएको छ।

आलुखेती विस्तार

जिल्लामा यस वर्ष १ हजार ७ सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आठ सय रोपनीमा हिउँदे आलु र ९ सय ५० रोपनीमा बर्खे आलु गरी एक हजार सात सय ५० रोपनी जग्गामा खायन प्रजातिको आलुखेती विस्तार गरिएको हो ।

हिउँदे आलुखेतीतर्फ जिल्लाभर १७ वटा कृषक समूह र एकवटा कृषि समूहमार्फत ८ सय रोपनीमा आलुखेती विस्तार गरिएको थियो । यसैगरी खायन प्रजातिकै बर्खे आलुखेतीतर्फ १५ वटा कृषक समूहमार्फत ९ सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ भने खायन प्रजातिको हिउँदे आलु उत्पादन कार्यक्रमतर्फ अधिकांश बेनी नगरपालिका क्षेत्र र बर्खेतर्फ बेनीसहित रघुगङ्गा र धौलागिरि गाउँपालिका छन् ।

आलु तथा बेमौसमी तरकारीखेती प्रवर्द्धन कार्यक्रमका लागि २८ लाख रुपैयाँको लागतमा १७ वटा फार्मलाई छनोट गरिएको छ । मसला तथा निर्यातयोग्य बाली अदुवा र बेसार उत्पादन गर्न मंगला गाउँपालिकाको बरजामा कार्यक्रम सञ्चालन भइरहेको केन्द्रका प्रमुख बाँस्तोलाले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi