Skip to content
Prabhu

नेपालमा ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआतः ऊर्जामन्त्री बस्नेत

बागमती । ऊर्जा, सिँचा तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उनले राजनीतिक परिवतनपछि ऊर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताए ।

मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताए। विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयश्रोत वृद्धि गरिने उनको भनाइ थियो । तीनवटै तहका सरकार, निजी क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिए।

समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत हेटौंडाको रातमाटेदेखि राप्ती नदीसम्म ‘बाइपास सडक’ निर्माण गरिने बताए । राजनीतिक परिवर्तन भइसकेको सन्दर्भमा अब सबैको ध्यान मुलुकको विकास र समृद्धितर्फ जानुपर्नेमा जोड दिँदै उनले यसका लागि दलीय आस्थाभन्दा माथि उठ्न सबैसँग अनुरोध गरे।

समारोहमा मकवानपुरबाट प्रतिनिधिसभामा निर्वाचित सांसदद्वय दिपकबहादुर सिंह र महेश बर्तौलाले हेटौंडा बजारको विस्तार र मध्यवर्ती क्षेत्रको समस्यालाई गम्भीररुपमा लिन सरकारसँग आग्रह गरे ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौंडा ४०० केभी क्षमताको सवस्टेसन निर्माण सम्पन्न भएसँगै नीजि क्षेत्रसमेतको सहयोगमा जलविद्युत् उत्पादनतर्फ उल्लेखनीय प्रगति भइरहेको बताए । यसबाट स्वदेशमा विद्युत् प्रशारण सुनिश्चित गर्न र विद्युत् विदेशमा निर्यात गर्न बाटो खुलेको उनको भनाइ थियो ।

समारोहमा उक्त सवस्टेसन निर्माणमा योगदान पु¥याउने निर्माण कम्पनी र प्राविधिकहरुलाई सम्मान गरिएको थियो । मुलुकको तेस्रो ठूलो सबस्टेसनको आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal