काठमाडौं । परीक्षामा प्रशिक्षार्थी अनुपस्थित भएमा सहभागित नहुने फेल हुन्छन् । तर, कुनै परीक्षामा अनुपस्थित भएका प्रशिक्षार्थीले सहभागी भएका अन्य र परीक्षा लिने नतिजा प्रकाशन गर्ने संस्थालाई फेल बनाइदिएका छन् ।
विषय हो धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि चयन भएका ३ जनाले अन्तर्वार्ता र आफ्नो प्रस्तुति दिनका लागि तोकिएको समयमा योजना आयोग नै पुगेनन् ।
धितोपत्र बोर्डमा पुसदेखि अध्यक्ष पद खाली छ । २ वर्षका लागि धितोपत्र बोर्डमा अध्यक्ष भएका रमेश हमालले जसले नियुक्ति दिलाएको हो त्योविपरीत काम गरेपछि कार्यकाल थप भएन । त्यसपछि भएको कर्पोरेट लडाइँ अमेरिका तत्कालीन शोभियत संघबीच भएको ‘कोल्डबार’ जस्तै हुन पुगेको छ ।
नेपालमा ठूला भनिने उद्योगी व्यवसायी अहिले दुई समूहमा बाडिएका छन् । धितोपत्र बोर्डको अध्यक्षमा आफू नजिकको व्यक्तिलाई ल्याउने र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हातमा लिने । एउटा समूहको नेतृत्व पछिल्लो समयमा व्यवसायमा आक्रामक ढंगले उदाएका दीपक भट्टले गरेका छन् । जसको पछाडि हिमालयन रि इन्स्योरेन्सका प्रमुख लगानीकर्ताको समूह छ । अर्कोतिर गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो छन् । जसको पछाडि हिमालयन रि इन्स्योरेन्समा लगानी नगर्ने व्यवसायी छन् । दोस्रो पुनर्बिमा कम्पनीको लाइसेन्स आह्वान हुँदा भट्टसहितको समूहले कर्पोरेट वार जितेको थियो । त्यो बेला महतो लगायतको समूह पराजित भयो ।
अहिले जुनसुकै हालतमा महतोको समूह धितोपत्र बोर्डमा भट्टसँग नजिक भएको व्यक्तिको नियुक्ति रोक्न चाहन्छ । भट्ट समूह जुनसुकै हालतमा आफूले भनेको व्यक्तिलाई नियुक्ति दिलाउन चाहन्छ । धितोपत्र बोर्डको अध्यक्ष पदमा राजनीतिक दलका नेताहरुसमेत विभाजित छन् । केपी ओली भट्टको समूहमा छन् भने प्रधानमन्त्री प्रचण्ड अडान लिन नसक्ने कहिले कता कहिले कता जस्तो छन् । विभागीय मन्त्री वर्षमान पुन अहिले सिफारिसमा परेका ५ जनालाई नियुक्ति दिने पक्षमा छैनन् । केपी ओलीको अडान र दबाबको कारण योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई सर्टलिष्टमा परेका ५ जनालाई अन्तर्वार्ताका लागि बोलाउने निर्णय गरे पनि ३ जना दावेबार अन्तर्वार्ता दिन आएनन् ।
आइतबारका लागि तोकिएको समयमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र अन्तर्वार्ता दिन पुगेका थिए । माओवादी नजिक भनेर चिनिएका चिरञ्जिवी चापागाईं, नवराज अधिकारी र कृष्ण कार्की अन्तर्वार्ता दिन गएनन् । कार्की काठमाडौं बाहिर रहेको जानकारी गराएका थिए भने अधिकारी बिरामी भएर बिदामा छन् । चापागाईं किन उपस्थित भएनन् भन्ने जानकारी नै गराएनन् ।
स्रोतका अनुसार आइतबार अन्तर्वार्ता दिन गएको भए पनि सन्तोषनारायणको नियुक्ति हुने हुँदा महतोसहितको व्यावसायिक समूहले ३ जनालाई अन्तर्वार्तामा अनुपस्थित गराएको हो ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) मा अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको समिति गठन गरिने छ भनिएको छ । सोही दफाको उपदफा ४ मा उपदफा (३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिमको योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ भनिएको छ । तर, अन्तर्वार्ताका लागि २ जना मात्रै उपस्थित भए पछि यो विषय थप पेचिलो बनेको हो ।
समितिले अन्तर्वार्ताका लागि अर्को समय तोक्ने तयारी गरेको छ । एकजना दावेदारले आइतबार उपस्थिति हुन नसक्ने जानकारी दिएको आधारमा अर्को सूचना प्रकाशित गर्ने तयारी छ ।
सेयर बजारको नियमनकारी निकाय धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयमा असफल भएका र फेल भएका भने अर्थमन्त्री हुन् । बजेटमा आलोचना गरेको कारण उनी केपी ओलीसँग खुसी छैनन् । स्रोतका अनुसार बोर्ड अध्यक्षको नियुक्ति नभएमा सरकारको स्थायित्वमा नै प्रश्न उठ्ने छ ।
प्रतिक्रिया दिनुहोस्