Skip to content
Prabhu

सिटिजन्स बैंकको धादिङमा दुई नयाँ शाखा सञ्चालन, विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले १९१ औं र १९२ औं शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको हो ।

गजुरी र धार्केमा आज बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरेलले नयाँ शाखाहरुको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा हामी धादिङ बासीहरुको सेवामा आइपुगेको र आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए ।

उक्त शाखाहरुको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
नयाँ शाखा सञ्चालनको अवसरमा यी शाखाहरुमा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । धादिङ गजुरीमा आफ्नो नयाँ शाखाको शुभारम्भ भएको दिनमानै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गजुरी १, आधामारा धादिङमा अवस्थित श्री पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ ।

विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । विपन्न समुदायका विद्यार्थीहरुलाई सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १ सय ९२ वटा शाखा, १ सय ५५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट १७ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal