Skip to content

शिक्षण पेसा छाडेर बाख्रापालन गरेका राई वार्षिक ६ लाख आम्दानी गर्दै

सुनसरी । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका २० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक ५ लाखदेखि ६ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

१७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाएका छन् ।
शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताए । ‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु नपर्ने र स्वतन्त्र रूपमा काम गर्न पाइने भएकाले आम्दानी र आत्मसन्तुष्टि दुवै मिल्दो रहेछ’, उनले भने, ‘शिक्षण पेसामा लामो समय काम गर्दा पनि सोचेजस्तो कमाइ भएन । आम्दानी नै नभए पनि आत्मसन्तुष्टि पनि हुने कुरै थिएन ।’

राईको बाख्रा फार्ममा अहिले एक सय २६ बाख्रा, बोका, खसी र पाठापाठी छन् । त्यसमध्ये बोयर, जमुनापारि जातका माउ बाख्रासमेत छन् । उनले यहाँ उत्पादन गरेका खसी, बोका, बाख्रा धरान १३ मा रहेको धरान कृषि बजारमा लेगेर बिक्री गरिरहेका छन् ।

राई शिक्षण पेसामा रहेका बेला उनको परिवारले बाख्रापालन गर्दै आएको थियो । त्यसबेला करिब २० वटा मात्रै बाख्रा थिए । पछि शिक्षण पेसा छाडेर राईले त्यसैलाई व्यावसायिक रुप दिए । धरान उपमहानगरपालिकाले कृषि अनुदानबाट एउटा बीउ बाख्रा उपलब्ध गराएपछि त्यहीँबाट बाँकी बाख्रा उत्पादन गरेको राईले जानकारी दिए। ‘पहिले मेरो परिवारमा फूर्सदको समयलाई सदुपयोग गर्दै बाख्रापालन गर्ने गरिएको थियो, त्यसैलाई मैले व्यावसायिक रुप दिएको हुँ । नजिकै जंगल भएकाले धेरै सहज भएको छ । यसका साथै आफ्नो जग्गामा अम्म्रिसो खेती पनि गरिरहेको छु’, उनले भने।

राईले अम्म्रिसो बेचेर पनि राम्रै आम्दानी हुने गरेको सुनाए । शिक्षण पेसा छाडेर कुनैबेला राईलाई विदेश जाने सोचसमेत नआएको होइन तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायसहित सुरु गरेको व्यवसायबाट हालसम्म पछुताउनु परेको छैन । राई भन्नुहुन्छ,“परिवारका सदस्यले पनि सहयोग गरिरहेका छन् । विशेषगरी श्रीमतीबाट राम्रो सहयोग पाएको छु । कुनै बेला विदेश जाने सोचसमेत नआएको होइन तर विदेश गएर दुःख गर्नुभन्दा आफ्नो देशमा केही गर्ने भनेर व्यवसाय सुरु गरेको थिए, अहिलेसम्म पछुताउनु परेको छैन । बरु परिवारसँगै बसेर राम्रो आम्दानी र त्योभन्दा बढी आत्मसन्तुष्टि मिलिरहेको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima