Skip to content

१ अर्बको लगानीमा हिमाल, पहाड र तराईका परिकार पस्किने लक्ष्यसहित चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

चितवन ।  कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा  १ अर्ब रुपैयाँभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ ।  हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा  हालै रिसोर्ट सञ्चालनमा आएको हो ।
व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट  सञ्चालन गर्दै आएका छन् । जहाँ बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्छन् । उनले भने, ‘लङ्कालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै  हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो ।’
रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’समेत जडान गरिएका छन् । उनले भने, ‘रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको छ । सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन् । पौडीपोखरी भिल्लाभित्रै छन् । एउटा भिल्ला सञ्चालनमा आइसकेको छ । दुई सञ्चालनको अन्तिम तयारीमा छन् ।’
उनका अनुसार दुई बिघा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा थारु सांस्कृति झल्किने ८ कोठा पनि छन्  । रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी मलेसियन नागरिक डोनाल्ड चले निर्वाह गरिरहेका छन् । उनले भने, ‘यो रिसोर्टलाई विश्वकै नमूना रिसोर्टमध्येको एक बनाउने प्रयासमा छौं । संस्कृति, रहनसहन, जनजीवनअनुसारको परिकार त छँदै छ । यहाँभित्र पोलिक्लिनिकसमेत छ । विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत उपचारको व्यवस्थासमेत गरिएको छ ।’
पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा सो रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्वीमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउने छन् ।
यहाँ हिमाल वरपरको स्याउका परिकार, भिर मौरीको मह, यार्सागुम्बालगायत जडीबुटी, जडीबुटीबाट निर्मित तेल, हिमाली खाद्यान्न बिक्रीका लागि राखिएका छन् । व्यवसायी लामाले भने, ‘चितवनको थारु परिकार, जनजीवन रिसोर्टमा पाइन्छ । रिसोर्टमा हालसम्म  ५० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । आगामी ६ महिनाभित्रमा पूर्णरुपमा सञ्चालन आउँदै गर्दा लगानी १ अर्ब रुपैयाँ माथि नै  पुग्ने छ ।’
यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताए । हालै रिसोर्टको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका हुन् ।
sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal