Skip to content
Prabhu

ललितपुर महानगरपालिकाद्वारा जावलाखेलमा रहेको ऐतिहासिक धारा पुनःनिर्माण

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ । यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुनर्निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ । महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा पुनर्निर्माण गरिएको हो । उक्त धारा ४ सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए।

उनको अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालित रुपमा सञ्चालित छ । ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काले ललितपुर–४ जावलाखेल मोसिख्योमा उद्यान निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन गरेर पुनर्निर्माण गरिएको बताए । उनले भने, ‘उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकार समाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमासमाजले नै धाराको संरक्षण गर्नेछ ।’

महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनर्निर्माण गर्ने क्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताए । उनले भने, ‘पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो । जरुँहिटी निर्माण गरेपछि बाटो हिँड्नलाई तिर्खाएको बेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal