Skip to content
Prabhu

हवाई सुरक्षामा उच्च जोखिम भन्दै नलिनचोकबाट उडान नगर्ने पाइलटहरूको निर्णय

काठमाडौं । हेलिकप्टर पाइलटहरूले नलिनचोकको हेलिपोर्टबाट कुनै पनि उडान नगर्ने बताएका छन्। हवाइै सुरक्षामा उच्च जोखिम देखिएको भन्दै पाइलटहरूले आज (बिहीबार) देखि कुनै पनि उडान नगर्ने निर्णय गरेका हुन्।

हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवा र सुविधा, उडान र अवतरणमा भएको समस्या लगायतका विषयमा गत साता पाइलटहरूले नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएका थिए। त्यसपछि एक चरणमा प्राधिकरणसँग बसेर छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको एक वरिष्ठ पाइलटले बताए।

हेलिकप्टर पाइलटका अनुसार पाइलटहरुबीच बुधबार भएको बैठकमा नलिन्चोक हेलिपोर्टबाट हुने उडान अवतरण जोखिमपूर्ण भएको र न्यूनतम पूर्वाधारसमेत नभएको भन्दै उडान नगर्ने निर्णय गरेका हुन । ती पाइलटका अनुसार जबसम्म हेलिपोर्टबाट उडान अवतरण गर्नु काठमाडौं विमानस्थलकै जस्तो ढुक्कको सुरक्षित महसुस हुँदैन तबसम्म त्यहाँ जान सकिँदैन ।

ती पाइलटले भने ‘प्राधिकरणले उड्डयन सुरक्षामा खेलाँची गरेर हेलिपोर्ट बनाएको, आवश्यक सुरक्षा संयन्त्रसहितका पूर्वाधार बिना नै उडानमा दबाब दिएको सहितका कारण अब उडान गर्न नसकिने निष्कर्ष निकालिएको हो।’

सुरक्षा जोखिम न्यूनीकरणका लागि प्राधिकरणलाई असार १६ मा लिखित रुपमै विभिन्न हेलिकप्टर कम्पनीका ४७ जना पाइलटले सुझाव दिएका थिए । ती पाइलटहरुको सुझावलाई प्राधिकरणले बेवास्था गरेको निष्कर्ष पनि पाइलटहरुको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले असार ७ गते यो हेलिपोर्टको उद्घाटन गरेका थिए। त्यसपछि प्राधिकरणले यो हेलिपोर्टबाट सबै कम्पनीका कम्तिमा एकएक हेलिकप्टर नलिनचोकबाट अनिवार्य सञ्चालन गर्न निर्देशन दिएको छ ।

सो हेलिपोर्ट प्राधिकरणले कमिसनका लागि बनाएको आरोप लागिरहेको छ । प्राधिकरण नेतृत्वले पनि उक्त हेलिपोर्टमा पाइलटलाई जबरजस्ती उडान अवतरण गर्न लगाइरहेको छ ।

पाइलटहरुले आवश्यक पूर्वाधार र अत्यावश्यक सेवा नहुँदै हेलिकप्टर उडान बाध्य पारिनुले उड्डयन सुरक्षामै जोखिम भएको भन्दै आपत्ति जनाएका छन् । यो हेलिपोर्ट वरिपरी उच्च भूभागससहितको अवरोधहरु रहेको, कन्ट्रोल टावर नबनेको, फाइनल एप्रोच टेकअफ प्वाइन्ट साँधुरो भएको, पार्किङ क्षेत्र सानो, इन्धन भर्ने सुविधा नभएको, आपतकालीन सेवा अभाव र साघुँरो क्षेत्रमा हेलिपोर्ट भएको कारण उडानयोग्य नभएको हेलिकप्टरका क्याप्टेनहरुको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal