Skip to content
Prabhu

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, ६ अर्ब ८६ करोड संकलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०र८१ मा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखापरेको छ ।

कार्यालयले आव २०७९र८० को तुलनामा आव २०८०/८१ मा २७ करोड १५ लाख रुपैयाँ कम राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको बताए ।

‘गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर सङ्कलन र आयकर सङ्कलन उत्साहजनक देखिएको छ’, उनले भने, ‘गत आवमा अन्तःशुल्क करवापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व सङ्कलनमा असर पारेको छ ।’

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि ९ अर्ब ४१ करोड ९७ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा आयकरतर्फ २ अर्ब २६ करोड ७५ लाख ५४ हजार रुपैयाँ सङ्कलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ २ अर्ब २० करोड २५ लाख चार हजार रुपैयाँ सङ्कलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ ४ अर्ब २० करोड २५ लाख ३६ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । तर गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत २ अर्ब ३९ करोड ८६ लाख २० हजार रुपैयाँ सङ्कलन गरेको छ ।

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताए । आन्तरिक राजस्व विभागले आव २०७९/८० मा कार्यालयलाई १० अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने ७ अर्ब १४ करोड रुपैयाँ सङ्कलन गरेको थियो । कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal